दिपायल स्थित भाइरल झोलुंगे पुलको उद्घाटन

पाँजलो न्युज
२६ मंसिर २०७९ १२:५५
दिपायल स्थित भाइरल झोलुंगे पुलको उद्घाटन

दिपायल । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको अग्लो र लामो झोलुङ्गे पुलको सोमबार उद्घाटन गरिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोटभैरव र धार्मीक स्थल दुधेश्वर जोड्ने गरेर अग्लो डाँडामाथि निर्माण भएको उक्त पुलको नगरप्रमुख बाजी सिं खड्काले उद्घाटन गरेका हुन् । पुलको उद्घाटन गर्दै नगरप्रमुख खड्काले झोलुंगे पुलसंगै कोटभैरब र दुधेश्वरको प्रबर्धन गर्न थप संरचनाहरु निर्माण गरिने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले ८६ लाख ३८ हजार लगानीमा उक्त पुल निर्माण गरेको हो । जमिन देखि ७० मिटिर उचाइमा निर्माण भएको उक्त पुलको लम्बाई २०० मिटिर लम्बाई रहेको छ ।

झोलुंगे पुलसम्म जाने सिँढी निर्माणका लागि नगरपालिकाले टेण्डर खोलीसकेको नगरपालिकाका निमिक्त प्रमुख प्रशसकीय अधिकृत शंकर सुचीकारले बताए । उनले हिँउदे अधिबेशनबाट थप योजनाहरुका लागि बजेट बिनियोजनको तयारी रहेको जानकारी दिए ।
मध्यकालीन समयमा बाइसे राज्यहरू मध्ये डोटी राज्य सबैभन्दा शक्तिशाली राज्य थियो,“उहाँले भन्नु भयो,“यसै राज्यका एक चर्चित राजा भूपती शाह हुनुहुन्थ्यो । उहाँले डोटीमा वि।सं। १६१५ देखि १६४७ सम्म शासन गरेको इतिहासमा भेटिन्छ । उहाँकै शासन कालमा डोटी गौडा नामक डाँडामा कोट अर्थात राजदरबार निर्माण गरिएको थियो । सोही दरबारबाट डोटी राज्यको राजकाज सञ्चालन हुन्थ्यो । राजनीतिक र प्रशासनिक इतिहास भएको यो ठाउँलाई पर्यटकीय स्थल बनाउन थप गतिविधिहरु सञ्चालन गर्ने योजना बनाएका छौं ।”

यो ठाउँमा ऐतिहासिक कोटभैरव दरबारका भग्नावशेषहरु अहिले पनि भेट्न सकिन्छ । दरबारको पुर्ननिर्माणका लागि केही समय अघि उत्खनन् पनि गरिएको थियो । डोटी गौणाका रुपमा चिनिने उक्त ठाउँमा रहेको दरबारको निर्माण कार्य भने अगाडी बढ्न सकेको छैन । स्थानीय तेज डुम्रेलले झोलुंगे पुल निर्माणका लागि सरकारसंग पटक पटक गरिएको आग्रह पुरा हुँदा खुसी लागेको बताए । उनले पर्यटन क्षेत्रमा ठुलो टेवा पुगेको बिश्वास ब्यक्त गरे । पछिल्लो समय सो पुल भाइरल पुलका नामले परिचित छ । सामाजिक संजाल, फेसबुक , टिकटकका लागि फोटो खिच्न चाहनेहरुको ओइरो लाग्ने गरेको छ । पुल निर्माण पश्चात सो क्षेत्र वरपर आर्थिक गतिबिधी समेत बढेको स्थानीय ब्यापारी बताउछन् ।

झोलुङ्गे पुलको निर्माणकार्य प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अघि नै सम्पन्न भएको भए पनि आचारसंहिताका कारण ढिलागरि उद्घाटन गरिएको हो । निमार्णकार्य सकिने वित्तिकै सो पुलमा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ । टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा पुल र फुलबाट देखिने दिपाय, पिपल्ला बजार क्षेत्र र सेती नदी चर्चामा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *