डोटी । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले डोटी जिल्लाका स्थानिय तहहरुलाई बजार अनुगमनको प्रक्रीया बारे जानकारी गराई रहेको छ ।
बुधबार डोटीको आदर्श गाउँपालिकामा पुगेर कार्यालयले बजार, होटल र उद्योग अनुगमन प्रक्रीया र बिधीको बारेमा जनप्रतिनिधीलाई जानकारी गराएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख सागर दाहालले बताए । उनले भने बजार अनुगमनको अधिकार स्थानिय सरकारलाई छ तर प्रक्रियाको बारेमा जानकारी नहुदाँ अलमल्ल छन त्यसैले स्थानिय तहले आफै आफ्नो वडा र गाउँमा बजार अनुगमन गरुन, बजार अनुगमनको महत्व, स्थानिय सरकारले बजार अनुगमन सम्बन्धी बनाउन सक्ने निति नियम र अनुगमनको तरिकाबारे जानकारी गराएको बताए ।
जनप्रतिनिधीहरुलाई विभिन्न विषयमा जानकारी गराउनुका साथै नमुनाको रुपमा मौवानगरदहमा रहेका ५ वटा पसल र २ वटा होटलमा अनुगमन गर्नुका साथै सुधार गर्नुपर्ने विषयमा सुझाब दिईएको समेत कार्यालय प्रमुख दाहालले बताए ।
आदर्श गाउँपालिकाले बजार अनुगमनको कार्यलाई विशेष महत्वका साथ लिई नियमित रुपमा बजार अनुगमन गरिने आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । उनले भने बजार अनुगमन गर्न पालिकाले आवश्यक निति, नियम निमार्ण गर्ने छ सोही अनुरुप अघाडी बढ्छ । अध्यक्ष खड्काले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालले आवश्यक सहयोग गर्न समेत आग्रह गरेका थिए ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सबै वडाका वडा अध्यक्ष र वडा सदस्यहरुलाई बजार अनुगमन प्रक्रियाको बारेमा जानकारी गराएको थियो ।
बजार अनुगमन प्रक्रियाबारे डोटीका अन्य पालिकाका जनप्रतिनीधहरुलाई पनि जानकारी गराईने कार्यक्रम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीले जनाएको छ । डिभिजन कार्यालले हाल डोटी, अछाम र बाजुरा जिल्ला सेवा क्षेत्रको रुपमा हेर्ने गरेको छ ।
प्रतिक्रिया