
दिपायल।डोटीमा प्रत्यक्ष र समानुपातिक गरेर १४ हजार ३५६ मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार ठुलो मात्रा मत बदर भएको हो ।
प्रत्यक्ष तर्फकोे ८ हजार ६२० र समानुपातिक तर्फको ५ हजार ७३६ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्य ८ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ ।
समानुपातिकतर्फ ६४ हजार २७८ मत खसेको थियो । जसमध्य ५८ हजार ५४२ मत सदर हुँदा ५ हजार ७३६ म तबदर भएको हो ।
एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको डोटीमा प्रतिनिधि सभातर्फको ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सभा (क) तर्फ ३३ हजार ३२२ मत खसेको थियो । जसमध्य एक हजार ९१९ मत बदर भएको छ । ३० हजार २३४ मत खसेको प्रदेश सभा (ख) तर्फ एक हजार ७ सय ३२ मत बदर भएको छ ।
प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का प्रेम बहादुर आले मगर ४ हजार २०६ मतको अन्तरले विजयी हुनुभएको छ । प्रदेश सभा (क) मा नेकपा एमालेका चक्र मल्ल ४५० मतको अन्तरले मात्रै विजयी हुनुभएको छ भने प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली ९१८ मतको अन्तरले मात्रै विजयी हुनुभएको छ ।
उम्मेदवार बीचको मतान्तर हेर्दा बदर मतको संख्या घटेको अवस्थामा नतिजा फरक आउने देखिन्छ । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको संख्या बढेको उम्मेदवारहरुको गुनासो रहेको छ ।
प्रदेश र प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक गरिए पनि समानुपातिक तर्फको मतको नतिजा सार्वजनिक हुनसकेको छैन । मुख्य निर्वाचन अधिकृत पाण्ड्येले समानुपातिक तर्फको मत गणना जारी रहेको बताउँदै शुक्रबार बिहान सम्म नतिजा सार्वजनिक हुने बताउनु भयो ।
प्रतिक्रिया