आउने निर्बाचनमा डोटिका एक हजार ४ सय २२ जना कर्मचारी खटिदै

पाँजलो न्युज
२२ कार्तिक २०७९ १२:२०

मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा डोटी जिल्लाका एक हजार ४ सय २२ जना कर्मचारी खटिने भएका छन् । जिल्लाका एक सय ७८ मतदान केन्द्रमा ८ जना जगेडा कर्मचारी सहित उक्त सङ्ख्यामा कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ । जगेडा कर्मचारीहरूमा ४ जना निर्वाचन अधिकृत र ४ जना सहायक मतदान अधिकृत हुन् ।

जिल्लामा एक सय १५ मतदान स्थल रहेका छन् । एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको डोटीमा १७८ निर्वाचन अधिकृत, १७८ सहायक मतदान अधिकृत, १७८ सहयोगी कर्मचारी र अन्य सहायक कर्मचारी गरेर एक हजार ४ सय २२ कर्मचारी खटिने भएका हुन् । मतदान केन्द्रमा खटिने कर्मचारीहरू मध्ये सहायक कर्मचारीमा कार्यालय सहायक र हलुका सवारी चालकलाई पनि राखिएको छ । यसरी श्रेणी विहीनलाई सहायक कर्मचारीमा राखिएको भन्दै केही अन्य कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् ।

आसन्न निर्वाचनमा डोटी जिल्लाका एक लाख २४ हजार ८ सय ७० जना मतदाता सहभागी हुने भएका छन् । जम्मा मतदातामा ६५ हजार ७ सय ३५ महिला र ५९ हजार एक सय ३५ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *