
डोटी / निर्वाचन आचारसंहिता बिपरित डोटीका उम्मेदवारहरुले प्रचार प्रसारमा सवारीसाधन प्रयोग गरिरहेका छन् । निर्वाचन प्रचार प्रसारका लागि प्रयोग गर्ने सवारी साधनको अनिवार्य रुपमा सवारी अनुमति लिनु पर्ने भए पनि उम्मेदवारहरुले आचारसंहिता विपरीत सवारी साधन प्रयोग गर्दै आएका हुन् ।
मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार जिल्लामा रहेका दलहरुमध्य राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश ख का उम्मेदवार मोहन बहादुर बमले मात्रै प्रचार प्रसारका लागि सवारी अनुमति लिएका छन् । प्रतिनिधी सभा तथा प्रदेश सभाका अन्य १२ उम्मेदवारले भने अनुमति लिएका छैनन् ।
“निर्वाचन प्रचार प्रसारमा प्रयोग हुने सवारी साधनको अनिवार्य अनुमति लिनु पर्ने आचारसंहितामा उल्लेख छ,” मुख्य निर्वाचन अधिकृत पाण्डेले भने,”एकजना उम्मेदवारले दुईवटा सवारी साधनहरु मात्रै प्रयोग गर्न पाउँछन् तर डोटीमा राप्रपा बाहेक कुनै पनि दलका उम्मेदवारले सवारी अनुमति लिएको पाइँदैन । अनुमति बिना प्रयोग भएका सवारी साधनहरू जफत गर्ने सम्मको निर्देशन छ ।”
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले अनुमति बिना प्रयोग भएका सवारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको बताए । अनुमतिबिना प्रचार प्रसारमा प्रयोग भएका चार वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाई गरी कागज बनाएर छोडिएको बताए । उनले अर्को पटक भेटिए जफत गर्न सक्ने व्यवस्था रहेको जानकारी दिए । यद्यपी मुख्य निर्वाचन अधिकृत पाण्डेले लिखित उजुरी नआएका कारण कारवाही नगरिएको बताए । उनले हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेका बिषयमा कुनै उजुरी नपरेपनि स्थलगत अनुगमनका क्रममा ठाउँ ठाउँमा लगाइएका झण्डा , ब्यानर हटाउन लगाइएको बताए ।
डोटीका उम्मेदवार तथा दलहरुले निर्वाचन आचारसंहिता विपरीत अनुमति नलिएका सवारी साधन प्रयोग गर्नुका साथै तोकिए भन्दा बढी सवारीसाधन प्रयोग गर्दै आएका छन् । जिल्लामा अनुगमन र कारबाहीको प्रक्रिया फितलो हुँदा उम्मेदवारहरुले आचारसंहिता मिचेर सवारी साधन प्रयोग गर्दै आएका छन् ।
निर्वाचन आयोगले दल तथा उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनिवार्य रुपमा सवारी अनुमति पत्र लिनुपर्ने जनाएको छ । डोटीमा प्रतिनिधी सभामा नेकपा एमालेबाट गौरी ओली, लोकतान्त्रीक बाम गठबन्धनबाट प्रेम आले तथा स्वतन्त्रबाट नरेन्द्र बहादुर खड्का प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया