धनगढीको सेती प्रादेशिक अस्पतालमा करार सेवाका कर्मचारीको दसैं भत्ता कटौती

पाँजलो न्युज
१२ असोज २०७९ १४:३२
धनगढीको सेती प्रादेशिक अस्पतालमा करार सेवाका कर्मचारीको दसैं भत्ता कटौती

धनगढी, १२ असोज । धनगढीको सेती प्रादेशिक अस्पतालमा रहेका सबै करार सेवाका चिकित्सक तथा अन्य कर्मचारीको भत्ता कटौती गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट निकासा नदिएकाले अस्पतालका कर्मचारीको भत्ता कटौती गरिएको हो ।

सेती प्रादेशिक अस्पतालमा कार्यरत एक सय ८२ जना चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीलाई प्रदेश सरकारले यो वर्ष दशैं भत्ता नदिने भएको हो । गत भदौ १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत दरबन्दीबाहेकका करार सेवाका कर्मचारीलाई प्रोत्साहन भत्ता नदिने निर्णय भएको छ । अस्पतालका कर्मचारीहरुले खाइपाइ आएको दसैं पेस्की तथा महङ्गी र प्रोत्साहन भत्ता नपाएकाले माथिल्लो निकायमा निवेदन दिएको डाक्टर विष्णु बमले बताए ।

हामीले यो वर्ष दसैं भत्ता, प्रोत्साहन र महङ्गी भत्ता पाएका छैनौँ, पाउनु पर्यो भनेर निवेदन दिएका छौँ, । उनले भने, खाइपाइ आएको भत्ता पाउनु पर्यो भन्ने हाम्रो माग छ । संघीय अर्थ मन्त्रालय र प्रदेशको आर्थिक मामिला मन्त्रालयको परिपत्र र निर्देशनअनुसार अस्पतालको दरबन्दीबाहेकका कर्मचारीको दसैं पेस्की, प्रोत्साहन र महङ्गी भत्ता कटौती गरिएको  प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सेती अस्पताल व्यवस्थापन समितिले भने दरबन्दीबाहेक करार सेवामा नियुक्त गरिएको कर्मचारीलाई भत्ता उपलब्ध गराउने प्रयास गरीने बताएको छ । सबै कर्मचारीलाई भत्ता दिन छलफल भइरहेको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए । हामीले मन्त्रालयबाट दरबन्दीबाहेकका कर्मचारीकव भत्ता दिन रकम पाएनौँ, उनले भने, तर पनि उनिहरुलाई कामकव चापको मुल्याङ्कन गरेर भत्ता दिने विषयमा छलफल भइरहेको छ ।

सेती अस्पतालमा स्वीकृत दरबन्दीअन्तर्गत नियुक्त भएका कर्मचारीलाई मात्रै सामाजिक विकास मन्त्रालयले दसैं पेस्की, प्रोत्साहन  र महङ्गी भत्ताका लागि रकम निकासा गरेको छ । विगतका वर्षहरुमा करार सेवाका कर्मचारीले पनि यो सुविधा पाउने गरेका थिए । अस्पतालमा बिरामीको चाप अनुसारको दरबन्दी नहुँदा चिकित्सक र कर्मचारीलाई सेवा करारमा लिनुपर्ने बाध्यता छ । तर अस्पताल व्यवस्थापनले भने उपयुक्त विकल्प खोजेर सबै कर्मचारीलाई भत्ता दिने व्यवस्था गरिने दाबी गरेको छ । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो सेती अस्पतालमा ५० शैयाको सरकारी दरबन्दी र ७५ शैयाको दरबन्दी अस्पताल विकास समितिकोले स्वीकृत गरेको छ । जम्मा एक सय २५ स्वीकृत दरबन्दीमा सञ्चालित अस्पतालमा बिरामीको संख्या भने उच्च छ । सेती सुदूरपश्चिमको रेफरल अस्पताल समेत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *