महाकालीको तटबन्ध विवादः छलफल गर्न भारत मन्जुर, धार्चुलामा बैठक
पाँजलो न्युज
२१ मंसिर २०७९ ७:३३
धनगढीः दार्चुलास्थित महाकाली नदी क्षेत्रमा भारतले एकतर्फी हिसाबले तटबन्ध निर्माण गर्दा भएको विवाद घटनामा नेपाल र भारतीय पक्षबीच वार्ता तथा छलफल हुने भएको छ। आइतबारदेखि पेचिलो बनेको तटबन्ध विवादमा आज नेपाल र भारतका प्रशासनबीच छलफल हुने भएको हो। चौतर्फी दबाबपछि भारतीय पक्ष वार्तामा बस्न मन्जुर भएको बताइएको छ। बुधबार नेपाल र भारतीय प्रशासनबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने कुरा तय भएको दार्चुला प्रशासनले जनाएको छ। यस्तै उता, भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले पनि नेपाली प्रशासनसँग छलफल गर्ने भएकाले बैठकमा सहभागी हुन मातहतका कार्यालयलाई पत्राचार गरेकी छन्।
सीमामा कडाइ
ढुंगा हानाहानपछि भारत जाने नेपालीलाई सीमामा कडाइ गरिएको छ। उक्त घटनापछि भारतले नेपाली नागरिकलाई नागरिकता देखाएर मात्र धार्चुला प्रवेश गर्न दिने गरिरहेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले परिचय खुल्ने कागजपत्र हेरेर मात्रै भारत प्रवेश दिइरहेको स्थानीहरुले बताएका छन्।
नेपालतिरबाट दैनिक ज्याला मजदुरी गर्न स्थानीयहरु भारततर्फ जान्छन्। (एसएसबी) ले आन्दोलनमा सहभागी नेपाली नागरिकमाथि कडा निगरानी राखेको छ। सरकारले सीमा विवादलाई नीतिगत रूपमा टुंगो नलगाउँदा त्यसको परिणाम दार्चुलावासीले भोगिरहेका छन्।
प्रतिक्रिया