डोटीको शिखर नगरपालिकाका विभिन्न वडामा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गतका गतिविधिको संयुक्त अनुगमन गरिएको छ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च CDF नेपाल र सामुदायिक विकास केन्द्र (CDC) डोटीको आयोजनामा सञ्चालित परियोजनामार्फत शिक्षा, स्वास्थ्य तथा आयआर्जनका क्षेत्रमा भएका गतिविधिको अनुगमन गरिएको हो।
अनुगमनका क्रममा शिखर नगरपालिका–५ का वडा अध्यक्ष डमरु कार्कीले परियोजनामार्फत किसानले मौसमअनुसारका बीउबिजन, खोर सुधार सामग्री तथा विद्यार्थीले शैक्षिक सामग्री प्राप्त गरेको बताउनुभयो।
त्यस्तै, गाउँमा बढ्दो बसाइँसराइ, रोजगारीको अभाव र वन्यजन्तुको आतंकका कारण खेतीयोग्य जमिनसमेत बाँझो रहने अवस्था रहेको स्थानीय टिकराम ओझाले बताउनुभयो।
राधाकृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रबहादुर बोहोराले गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको भौतिक संरचना सुधारमा संस्थाले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो।
वर्षभरि शिक्षा, स्वास्थ्य र आयआर्जनका क्षेत्रमा सञ्चालन गरिएका गतिविधिको उपलब्धि सकारात्मक देखिएको शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले बताउनुभयो। नगर प्रमुख दीर्घ बहादुर बलायरले नगरपालिकाले शिक्षा क्षेत्रमा लिएको लक्ष्य हासिल गर्न संस्थाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।
संयुक्त अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुख, गुड नेवर्स इन्टरनेशनल नेपाल डोटी क्लस्टर संयोजक रञ्जितकुमार चौधरी तथा सामुदायिक विकास मञ्च नेपाल र सामुदायिक विकास केन्द्रका पदाधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो।






प्रतिक्रिया