सिलगढी- त्रिभुवन विश्वविद्यालय अन्तर्गत डोटीको सिलगढीमा स्थापना हुन लागेको इन्जिनियरिङ अध्ययन संस्थान (IOE), खप्तड क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग ६ करोड रुपैयाँ बजेट माग गरिएको छ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नरेश मलासीको नेतृत्वमा सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्रालयका मन्त्री चक्र मल्ल लाई बजेट मागको लागि ज्ञापनपत्र बुझाइएको हो । क्याम्पसका परियोजना संयोजक दिलानन्द जोशीले आर्थिक मामिला तथा योजना विकास मन्त्रीलाई पत्र पठाउँदै चालू आर्थिक वर्ष २०८३/०८४ को बजेटबाट रकम विनियोजन गरिदिन औपचारिक अनुरोध गर्नुभएको पत्र मन्त्री मल्ल लाई बुझाइएको छ।
त्रिभुवन विश्वविद्यालयको प्रत्येक प्रदेशमा कम्तीमा एक आंगिक क्याम्पस सञ्चालन गर्ने नीति अनुसार वि.सं. २०८० को विश्वविद्यालय सभाले डोटीको सिलगढीमा ‘खप्तड क्याम्पस’ स्थापना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार सिलगढीमा परियोजना कार्यालयसमेत स्थापना भइसकेको छ।
बजेटको अभावमा क्याम्पसको आफ्नै संरचना बन्न नसक्दा स्नातक तहका कक्षाहरू सुरु हुन सकेका छैनन्।
प्रशासनिक भवन निर्माण, प्रयोगशाला (ल्याब) तथा पुस्तकालय भवन निर्माण, पहुँच मार्ग स्तरोन्नति लगायत
आवश्यक भौतिक पूर्वाधार तयार भएलगत्तै इन्जिनियरिङ विषयका स्नातक तहका कक्षाहरू सञ्चालनमा आउने र यसबाट सुदूरपश्चिमका विद्यार्थीहरूलाई प्राविधिक शिक्षाका लागि सहज हुने विश्वास लिइएको छ।







प्रतिक्रिया