डोटी- डोटीमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
बिहीबार अपराह्न ४ः२० बजे दिपायल–बोगटान सडकखण्डअन्तर्गत के.आई.सिंह गाउँपालिका–४ बास्कोटमा अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार वायलबाट देउरडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ८६८४ नम्बरको अटो ब्रेक फेल भएर सडकको दायाँतर्फको नालीमा पल्टिएको हो । अटो के.आई.सिंह गाउँपालिका–३ बासुदेवीका २४ वर्षीय दीपेन्द्र बमले चलाएका थिए ।
दुर्घटनामा के.आई.सिंह गाउँपालिका–३ डल्लाकी ५५ वर्षीया लछु ऐर, ४५ वर्षीया मातादेवी ऐर र १५ वर्षीया चेतना ऐर, वडा नं. २ देउगडाकी ३५ वर्षीया गौरीदेवी मल्ल तथा वडा नं. ३ बासुदेवीकी ५५ वर्षीया हरिनादेवी बम घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी रणबहादुर चन्दका अनुसार घाइते लछु, चेतना, गौरीदेवी र हरिनादेवीको अवस्था मध्यम रहेको छ । मातादेवीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजंग अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया