७९ वर्षको उमेरमा नागरिकता पाएपछि दिलसराको खुसी

दिनेश जोशी
११ असार २०८३ १५:५७
७९ वर्षको उमेरमा नागरिकता पाएपछि दिलसराको खुसी

डोटीडोटीको बडीकेदार गाउँपालिका–२ की ७९ वर्षीया दिलसरा बुचा मगरले बिहीबार नागरिकता प्राप्त गरेकी छन्। लामो समयदेखि आर्थिक अभाव, पारिवारिक समस्या र भौगोलिक विकटताका कारण नागरिकता बनाउन नसकेकी उनले इलाका प्रशासन कार्यालय विपिनगरमार्फत नागरिकता पाएपछि खुसी व्यक्त गरिन्।
इलाका प्रशासन कार्यालय विपिनगरका प्रमुख लालबहादुर बोगटीले मगरलाई नेपाली नागरिकताको प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र प्रदान गरेका हुन्। उमेरले थलिएको शरीर र चाउरी परेको अनुहारमा नागरिकता प्राप्तिको खुसी स्पष्ट झल्किन्थ्यो।
“यो उमेरमा आएर नागरिकता पाएँ। आर्थिक अवस्था कमजोर थियो, पारिवारिक समस्या र दुर्गम भौगोलिक अवस्थाका कारण नागरिकता बनाउन सकेको थिइनँ,” उनले भनिन्, “इलाका प्रशासन स्थापना भएपछि नागरिकता बनाउन सहज भयो। सबैको सहयोगले नागरिकता पाउँदा निकै खुसी लागेको छ।”
नागरिकता र राष्ट्रिय परिचयपत्र नहुँदा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तासमेत पाउन नसकेकी मगर अब उक्त सुविधाको पहुँचमा पुग्ने भएकी छन्।
इलाका प्रशासन कार्यालयका अनुसार कार्यालय स्थापना भएसँगै नागरिकता लगायतका सरकारी सेवाबाट वञ्चित नागरिकलाई सेवा लिन सहज भएको छ। दुर्गम क्षेत्रका बासिन्दालाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यअनुसार नागरिकता वितरण तथा अन्य प्रशासनिक सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *