डोटी गोल्डकप दोस्रो संस्करण : विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने

दिनेश जोशी
१० जेठ २०८३ १५:४४
डोटी गोल्डकप दोस्रो संस्करण : विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने

डोटी, – डोटीका विद्यालयस्तरीय खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले शिलास्थान युवा क्लबले ‘डोटी गोल्डकप’ फुटबल प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने भएको छ।
दिपायल सिलगढी नगरपालिका–६ स्थित खेलमैदानमा आगामी जेठ २९ गतेदेखि सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका कक्षा १० सम्म अध्ययनरत १६ वर्षमुनिका विद्यार्थी सहभागी हुन पाउनेछन्।
क्लबका अध्यक्ष हिक्मत मलासीका अनुसार प्रतियोगिता ९ ए (9A) साइड फुटबल ढाँचामा सञ्चालन गरिनेछ। सहभागी खेलाडीले पासपोर्ट साइजको फोटो र जन्मदर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। एक विद्यालयले बढीमा दुई टोलीसम्म सहभागिता जनाउन सक्नेछ।
प्रतियोगितामा सहभागिताका लागि कुनै दर्ता शुल्क लाग्ने छैन। टोली दर्ता जेठ ८ गतेदेखि जेठ २२ गतेसम्म खुला रहने आयोजकले जनाएको छ। प्रत्येक टोलीमा १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक गरी १४ जना रहने व्यवस्था गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले ३० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले १५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ। तृतीय हुने टोलीलाई ५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिनेछ। साथै प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषित गर्दै ५०० रुपैयाँ नगद पुरस्कार उपलब्ध गराइनेछ।
खेल अवधिभर सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्ने जनाएको छ। यद्यपि सहभागी विद्यालयले आफ्ना खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको खानपानको व्यवस्था स्वयं गर्नुपर्नेछ।
अध्यक्ष मलासीले विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै जिल्लाका सबै विद्यालयलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्। उनका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र खेल संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *