एमआरपी नलेखिएका सामान बेच्न नपाइने

दिनेश जोशी
२३ वैशाख २०८३ २:३३
एमआरपी नलेखिएका सामान बेच्न नपाइने

डोटी- जिल्ला प्रशासन कार्यालय डोटीले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ। कार्यालयले बिहीबार सूचना जारी गर्दै एमआरपी उल्लेख नभएका वा तोकिएकोभन्दा बढी मूल्य लिइएको पाइए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको हो।
गृह मन्त्रालयअन्तर्गतको नीतिअनुसार एमआरपी कार्यान्वयनलाई कडाइका साथ लागू गर्न जिल्लास्थित व्यापारी, आयातकर्ता, उद्योगी तथा विक्रेतालाई निर्देशन दिइएको प्रशासनले जनाएको छ। बजार अनुगमनलाई निरन्तरता दिइने र उल्लंघन भेटिए तत्काल कारबाही गरिने प्रशासनको भनाइ छ।
सूचनाअनुसार आयातकर्ताले विदेशबाट ल्याइएका वस्तुमा भन्सार तथा एमआरपी उल्लेखसहितको लेबल अनिवार्य टाँस्नुपर्नेछ। त्यस्तै, उत्पादकले प्याकेजिङ गर्दा मूल्य, ब्याच नम्बर, तौल र म्याद स्पष्ट देखिने गरी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रशासनले खुद्रा तथा थोक विक्रेतालाई एमआरपी नखुलेका कुनै पनि सामान किनबेच नगर्न समेत निर्देशन दिएको छ। उपभोक्तालाई यस्ता गतिविधिबारे जानकारी भएमा तत्काल प्रशासनमा खबर गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *