सुदूरपश्चिममा ६० युवालाई निःशुल्क सिपमूलक तालिम

पाँजलो न्युज
२२ चैत २०८२ ९:२८
सुदूरपश्चिममा ६० युवालाई निःशुल्क सिपमूलक तालिम

डोटी- सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको निःशुल्क सिपमूलक तालिम सम्पन्न भएको छ। चोरी–सिकारी तथा अवैध वन्यजन्तु व्यापार न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा ६० जना युवा लाभान्वित भएका छन्।
मिति २०८२ पुस २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन भएको तालिम सामुदायिक विकास केन्द्र डोटी ले राष्ट्रिय प्रकृति संरक्षण कोष (कञ्चनपुर) को आर्थिक सहयोगमा तथा सेती प्राविधिक शिक्षालय को समन्वयमा सञ्चालन गरेको हो।
परियोजना अन्तर्गत बेमौसमी तरकारी खेती, मोबाइल रिपेरिङ र बिल्डिङ इलेक्ट्रिसियन विषयमा ३९० घण्टाको उद्यमशीलता तथा रोजगारमुखी तालिम प्रदान गरिएको थियो। तालिम डोटीमा ४० जना र कञ्चनपुरमा २० जना गरी तीन समूहमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कैलाली, डोटी, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलाका युवाहरू सहभागी थिए। मानव–वन्यजन्तु द्वन्द्व तथा वन्यजन्तुको अवैध व्यापारबाट प्रभावित युवालाई प्राथमिकतामा राखेर तालिम सञ्चालन गरिएको आयोजकको भनाइ छ।
सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशी ले सिपमूलक तालिमले युवाहरूलाई स्वरोजगार र वैकल्पिक आयआर्जनका अवसर सिर्जना गर्न मद्दत पुग्ने बताए। उनका अनुसार यस्ता कार्यक्रमले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा उद्यमशीलता विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
मोबाइल रिपेरिङ तालिममा सहभागी दार्चुलाका सुरज लुहारले तालिमलाई महत्वपूर्ण अवसरका रूपमा लिएको बताए। सिकेका सीपलाई व्यवहारमा उतार्दै आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गरी परिवारको आर्थिक अवस्था सुधार गर्ने प्रतिबद्धता सहभागीहरूले जनाएका छन्।
आयोजक संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै प्रदेशका अन्य प्रभावित क्षेत्रमा समेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ। यसले युवाको सशक्तीकरणसँगै वातावरण संरक्षण र दिगो विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *