
डोटी– जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा ३ मा रहेको दिल्पेश्वर स्पोटर्स क्लबले तेस्रो संस्करणको पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । शनीबार क्लबले पत्रकार सम्मेलन गरी आगामी असोज महिनामा हुने क्रिकेटबारे सम्पूर्ण जानकारी गराएको हो ।
‘दिल्पेश्वर क्रिकेट लिग–३’ नामक उक्त प्रतियोगिता २०८२ साल असोज ६ गतेदेखि दिल्पेश्वर खेल मैदान, दीपायलमा सुरु हुनेछ । प्रतियोगिताले क्षेत्रीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै क्रिकेट खेलको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
क्लबले प्रतियोगिताको उद्देश्य खेलकुदको प्रवद्र्धन, युवालाई सकारात्मक क्रियाकलापतर्फ प्रेरित गर्ने र स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने अवसर प्रदान गर्ने रहेको बताएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीलाई १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने दोस्रोलाई ५१ हजार १११ र अन्यलाई ४७ हजार ७७८ रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिने भएको छ ।
प्रतियोगिताको अनुमानित लागत पाँच लाख ५० हजार रुपैयाँ रहेको छ । यसमा कार्यक्रम व्यवस्थापन, अतिथि स्वागत, निर्णायक पारिश्रमिक, पुरस्कार वितरण, विज्ञापन र विविध खर्चका लागि रकम छुट्याइएको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन विभिन्न ६ वटा समिति गठन गरिएको छ ।
प्रतियोगिता संचालक मुल समिति संयोजकको जिम्मेवारी दीर्घराज माझीले सम्हाल्नेछन् । सगर साउँद, लोकेन्द कठायत, गणेश साउँद र अजय माझि समितिको सदस्यमा रहेका छन् । साथै, सल्लकार समितिमा मनोहर माझी, विष्णु बहादुर खड्का, लाकेन्द्र कठायत, सिताराम नाथ, अमर खड्का, कैलाश नाथ, शैलेन्द्र खड्का र अशोक द्वारीया सदस्यका रूपमा रहनेछन् ।
प्रतियोगिता दिल्पेश्वर मठस्थित खेल मैदानमा आयोजना हुनेछ । क्लबले यस स्थानलाई खेलकुद गतिविधिहरूको प्रमुख केन्द्रका रूपमा विकास गर्न चाहेको छ । यस क्षेत्रका खेलकुद उत्साहीहरूका लागि यो प्रतियोगिता एक महत्वपूर्ण अवसर मात्र नभई सामाजिक एकताको माध्यमसमेत बन्ने क्लबको विश्वास छ ।
क्लवका अनुसार उक्त खेललाई अनुशासीत र भव्य रुपमा सम्पन्न गर्नको लागि आइसीसीले बनाएका सम्पूर्ण नियमको पूर्ण पालना गरिने भएको छ । क्लबले नियम अनुसार खेल नखेलेको टीमलाई कानुन अनुसार डिसक्वालिफाई समेत गर्न सक्ने भएको छ ।
यस क्लबले डोटी जिल्लामा विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । केही समय अगाडि सोही क्लबले उत्साहजक रुपले भलिवल प्रतियोपगता समेत सफल पारिसकेको छ ।
सुदूरपश्चिम प्रदेशको भौगोलिक चुनौतीका बाबजुद पनि यस किसिमका खेलकुद प्रतियोगिताहरूले युवाहरूलाई खेलकुदमा संलग्न गराउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको नाम उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
खेलकुद क्षेत्रको विकास र युवाको सकारात्मक उन्नयनका लागि दिल्पेश्वर स्पोट्र्स क्लबले आयोजना गर्न लागेको यो प्रतियोगिता क्षेत्रीय खेलकुदप्रेमीहरूका लागि एक महत्त्वपूर्ण अवसर बन्नेछ ।
प्रतिक्रिया