संसद्मा कांग्रेस नेता केसीले भने–सागका पदक विजेता खेलाडी विदेश पलायन हुनु चिन्ता र निराशाजनक

पाँजलो समाचार
२७ भदौ २०८१ ३:३५
संसद्मा कांग्रेस नेता केसीले भने–सागका पदक विजेता खेलाडी विदेश पलायन हुनु चिन्ता र निराशाजनक

कांग्रेस सांसद अर्जुननरसिंह केसीले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी विदेश पलायन हुनु चिन्ता र निराशाजनक भएको बताएका छन् । प्रतिनिधिसभामा बुधबार केसीले देशको अवस्थाका कारण नै खेलाडी बिदेसिएको र उनीहरूको संरक्षण गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

२२ भदौमा नयाँ पत्रिकाले ‘१३औँ सागमा स्वर्णसहित २०७ पदक विजेतामध्ये सय खेलाडी विदेश पलायन’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सांसद केसीले सोही समाचारको प्रसंग निकाल्दै खेलाडीले राज्यबाट उपेक्षा र आफ्नो भविष्य नदेख्दा नै नेपाल छाडेको बताएका हुन् ।

‘राष्ट्रको इज्जत र प्रतिष्ठाका प्रतिनिधि दक्षिण एसियाली खेलकुद सागमा स्वर्णपदक प्राप्त २०७ खेलाडी मध्ये अहिलेसम्म सय खेलाडीले नेपाल छाडिसकेको अवस्था छ,’ उनले भने, ‘वास्तवमा राज्यको उपेक्षा तथा भविष्य, चिन्ता र निराशाका कारण पलायन भएका छन् । उनीहरूलाई कसरी संरक्षण गर्न सकिन्छ, राज्यले सोच्नु पर्छ ।’

सन् २०१९ मा काठमाडौंमै भएको १३औँ सागमा स्वर्ण जितेकामध्ये २८ जना खेलाडी पलायन भएका छन् । १३औँ सागमा ४३७ नेपाली खेलाडी सहभागी थिए । प्रतियोगितामा समावेश २९ वटै खेलमा प्रतिस्पर्धा गरेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य जितेको थियो । दक्षिण एसियाका सात राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो भएको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *