डोटीमा विभिन्न कार्यक्रमको आयोजना गरी तिन दिन निजामती सेवा दिवस मनाइने 

गणेश बहादुर मौनी
२१ भदौ २०८१ १४:२०
डोटीमा विभिन्न कार्यक्रमको आयोजना गरी तिन दिन निजामती सेवा दिवस मनाइने 
डोटीमा विभिन्न कार्यक्रमको आयोजना गरी तिन दिन निजामती सेवा दिवस मनाइने भएको छ ।
दिवसको अवसरमा शुक्रवार जिल्ला स्थित सबै सरकारी कार्यालयहरूले आफ्नो कार्यालय परिसर सरसफाइ गरी सिलगढी बजार जिल्ला प्रहरी कार्यालय देखी शैलेश्वरी मन्दिर सम्म बृहत् सरसफाइ गर्नुका साथै निजामती कर्मचारी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको निजामती सेवा दिवस जिल्ला समारोह समिति डोटीका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
दिवस समारोह अन्तरगत दोस्रो दिन शनिवार बिहान प्रभात फेरी गरिने छ । त्यस्तै जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिनुका साथै जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । दिवसकै अवसरमा जिल्ला स्थित विभिन्न कार्यालयमा कार्यरत सेवा निवृत्त हुन लागेका कर्मचारीहरूलाई सम्मान गरिने समेत आयोजकले जनाएको छ ।
दिवसको तेस्रो दिन कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई स्वागत गरेर सेवा सुचारु गरिने र तिनै दिन साँझको समयमा सबै कार्यालयहरूमा दीप प्रज्वलन गरिने प्रजिअ अर्यालले बताए ।
दिवस समारोहको पूर्व सन्ध्यामा आयोजित बृहत् सरसफाइ तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता जिल्ला स्थित सबै सरकारी कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । मैत्रीपूर्ण फुटबल प्रतियोगिता सिलगढी स्थित टुडीखेलमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *