पहिलोपटक चन्द्रमामा अवतरण भयो निजी कम्पनीको यान 

पाँजलो न्युज
१३ फागुन २०८० ८:२८
पहिलोपटक चन्द्रमामा अवतरण भयो निजी कम्पनीको यान 

अन्तरिक्षसम्बन्धी कम्पनी Intuitive Machines ले तयार पारेको मून ल्याण्डर Odysseus चन्द्रमाको सतहमा अवतरण गरेको हो ।

योसँगै चन्द्रमामा निजी कम्पनीको यान अवतरण भएको इतिहासमै पहिलो घटना भएको छ। साथै आधा शताब्दीपछि अमेरिकाले पहिलोपटक आफ्नो कुनै यान चन्द्रमामा उतारेको छ।

यसअघि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् १९७२ मा अन्तिम पटक आफ्नो अपोलो १७ मिसन चन्द्रमामा अवतरण गराएको थियो ।

पछिल्लोपटक निजी कम्पनीले चन्द्रमामा पठाएको कीर्तिमानी ओडिसियस यान वास्तवमा एउटा कार्गो यान हो । यसमा विभिन्न खालका प्रयोगका यन्त्रहरु पठाइएको छ । यो यानले ३/४ दिन अघि नै पृथ्वीसँगको आफ्नो सेल्फी पठाएको थियो ।

ओडिसियस ल्याण्डर यही फेब्रुअरी १५ मा प्रक्षेपण गरिएको थियो । नासाको कमर्सियल लूनर पेलोड सर्भिस कार्यक्रम अन्तरगत सो प्रक्षेपण गरिएको हो । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट यान प्रक्षेपण गरिएको थियो ।

इान चन्द्रमाको दक्षिण ध्रुवस्थित मालापर्ट क्रेटरनजिकै रहेको मालापर्ट ए क्रेटर छेउँमा अवतरण गरेको छ । यो क्रेटर ६९ किलोमिटर चौडा छ । चन्द्रमासम्म पुग्नका लागि यानले ३.८४ लाख किलोमिटरको यात्रा गरेको थियो ।

 

ओडिसियस यानको सफ्ट ल्याण्डिंग नासाको आगामी मानव सहितको चन्द्र मिसन आर्टेमिसका लागि निकै सहयोगी हुने अपेक्षा गरिएको छ ।

ओडिसियसमा नासाका ६ वटा विभिन्न प्रयोगशाला उपकरणहरु पठाइएको छ । एउटा प्रविधि प्रदर्शक हो । यसका अलावा ६ वटा विभिन्न निजी कम्पनीका पेलोडहरु पनि रहेका छन् । उक्त मिसनको नाम IM-1 Mission रहेको छ ।

नासाका वैज्ञानिकहरुले फेब्रुअरी २२ मा ओडिसियस यान चन्द्रमाको सतहमा अवतरण गर्ने अनुमान गरेका थिए र सो अनुसार नै त्यहीँ दिन यान चन्द्रमामा सफलतापूर्वक पुगेको छ ।

नासाले यो कामका लागि इन्ट्वीसिभ मेसिन कम्पनीसँग ११ करोड ८० लाख डलरको करार सम्झौता गरेको थियो । त्यसपछि कम्पनीले ओडिसियस मून ल्याण्डर निर्माण गरेको थियो । समग्रमा यो मिसन १६ दिनको रहेको छ । अर्थात् चन्द्रमाको सतहमा अवतरण गरेपछि थप ७ दिनसम्म यो यानले काम गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *