डोटीमा खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथन प्रतियोगिता हुने

गणेश मौनी
४ जेठ २०८० १४:३६
डोटीमा खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथन प्रतियोगिता हुने

डोटी ।गङ्गादशहरा मेलाका अवसरमा डोटीमा दोस्रो संस्करणको खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथन प्रतियोगिता २०८० हुने भएको छ ।
जेठ १६ गते खप्तडमा लाग्ने गंगा दशहरा मेलाको अवसरमा १२ गतेदेखि १७ गतेसम्म हाई अल्टिच्युड म्याराथन प्रतियोगिता लगायत भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता र देउडा प्रतियोगिताको आयोजना गरिने भएको हो ।
तीन हजार तीन सयको उचाईबाट प्रतियोगिता हुने भएकाले हाई अल्टिच्युड भनिएको आयोजकले जनाएको छ । म्याराथन प्रतियोगितामा कम्तीमा ४२.५ किलोमिटर दुरी हुनपर्ने नियम भएकाले सोहि अनुसारको दुरीमा प्रतियोगिता गराइने आयोजकले जनाएको छ । खप्तडको प्रबेशद्वार झिग्रानादेखि डोटीको प्रमुख धार्मिक स्थल शैलेश्वरी मन्दिर सम्म महिलाहरुका लागि हाफ म्याराथन प्रतियोगिता हुने समेत आयोजकले जनाएको छ ।
डोटी उद्योग बाणिज्य संघ र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन श्री नम्बर ५ बाहिनी अड्डा राजपुर, श्री भैरब प्रसाद गण सिलगढी र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकले गर्ने आयोजकले जनाएको छ ।
म्याराथन प्रतियोगिता जेठ १७ गते बिहान ६ बजे खप्तड देखि शैलेश्वरी सम्म र महिलाहरुका लागि हाफ म्याराथन सोहि दिन सोही समयमा झिग्रानादेखि शैलेश्वरी सम्मसंचालन हुने भएको छ । अन्य कार्यक्रम पुरुष भलिबल प्रतियोगिता जेठ १३ गतेदेखि १६ गतेसम्म, घोडा दौड प्रतियोगिता जेठ १५ गते, देउडा प्रतियोगिता १६ गते राती खप्तड क्षेत्रमै संचालन गरिने डोटी उद्योग बाणिज्य संघका महासचिब दिपक बहादुर खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको अवधिमा कम्तीमा ३ सय खेलाडी, १० हजारभन्दा बढीको संख्यामा धार्मिक तथा खेल प्रेमी पर्यटकहरुको खप्तड क्षेत्रमा भ्रमण तथा अवलोकन गराइने लक्ष्य लिएको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष मोहन कलेलले बताउनु भयो ।
खेलकुदको माध्ययमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने हेतुले खप्तडमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको भैरब प्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताउनु भयो । खुल्ला प्रतियोगिता भएकाले म्याराथनमा प्रतियोगितामा सुदूरपश्चिम भित्रमा प्रत्येक जिल्लाबाट खेलाडीहरु भाग लिने र ७ देखि १० जना सम्म बिदेशी खेलाडीहरु आउने सम्भावना रहेको समेत प्रमुख सेनानी कार्कीले बताउनु भयो । म्याराथनका लागि नौ वटै जिल्लाबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका एक एक जना गरी २७ जना, नौ वटै जिल्लाका जिल्ला खेलकुदको सिफारिसमा दुई जना महिला र दुई जना पुरुष गरी ३६ जना सहभागि हुने छन् । त्यसैगरी डोटी जिल्ला आयोजक भएकाले यस जिल्लाबाट केहि बढीको संख्यामा खेलाडी सहभागि हुने समेत प्रमुख सेनानी कार्कीले बताउनु भयो ।
म्याराथन प्रतियोगिताको लागि खुल्ला तर्फ ६० जना र बिभागिय तर्फ करिब ४० जना गरी बढीमा १०० जनाको सहभागिता रहने समेत जानकारी दिए । प्रतियोगिताको हिसाबमा हाई अल्टिच्युड म्याराथन प्रतियोगिता नेपालमै पहिलो प्रतियोगिता रहेको समेत प्रमुख सेनानी कार्कीले बताए ।
म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २५ हजार, द्वितीयलाई ८० हजार र तृतीय हुनेलाई ५० हजार, सान्त्वता हुने ७ जनालाई क्रमशः १०, ९, ८, ७, ६, ५ र ४ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
त्यसैगरी हाफ म्याराथन (महिला) मा प्रथम हुनेलाई ५० हजार , द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार नगद पुरस्कार दिइने छ । सान्त्वना हुने २ जनालाई ५ हजार र २ हजार दिईने बताइएको छ ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार नगद रहेको छ । त्यसैगरी घोडा दौड प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार नगद पुरस्कार दिइने भएको छ भने देउडामा प्रथम हुने एक जनालाई एक लाख नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।
अनुमानित खर्च २६ लाख आठ हजार पाँच सयमा हुन लागिएका प्रतियोगिताको लागि आर्थिक सहयोग डोटीका सम्पूर्ण स्थानीय तह तथा खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *