बझाङमा सात वर्षमा पनि बनेन झोलुंगे पुल

पाँजलो न्युज
३ चैत २०७९ ७:२९
बझाङमा सात वर्षमा पनि बनेन झोलुंगे पुल

बझाङ । सात वर्षअघि निर्माण पूरा गर्ने भनेर ठेक्का सम्झौता भएको दुर्गम साइपाल गाउँपालिकाको एउटा झोलुंगे अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन । जिल्लाको विकट साइपाल गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको इंगलद्वार खोलाको पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो । उक्त खोलामा पुल नहुँदा साँघुबाट खसेर र जंघार तर्ने क्रममा खोलामा बगेर सात वर्षको अवधिमा सात जनाले ज्यान गुमाइसकेका छन ।

स्थानीय र जनप्रतिनिधिको निरन्तरको दबाबपछि ठेकेदारले झोलुंगे पुल निर्माण गरे पनि पुलको उत्तरी छेउको पहरामा बाटो नबनाउँदा वारपार गर्न असहज छ । ‘पुल त बनेको छ । पुलसँगै जोडिएको पड (चट्टान) नकाटेको कारण तर्न मिल्दैन,’ साइपाल गाउँपालिका –४, धुलीका लालबहादुर बोहराले भने, ‘पुल जोडिसकेपछि ठेकेदार भागिसकेको छ ।’ उनले पुलको मुख पहरामा जोडिएकाले पुल बनेर पनि प्रयोग हुन नसकेको बताए ।

२०७३ मंसिरमा स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलिडार परियोजनासँग ठेक्का सम्झौता गरी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मा लिएको हरिहरि निर्माण सेवा प्रालिले काम अधुरै छोडेर भागेपछि समस्या भएको धुलीका गोरख लामाले बताए । उनले ठेकेदारले रकम नदिएर भागेपछि श्रमिकहरूले आफूलाई दुःख दिन थालेको सुनाए ।

बझाङका स्थानीयको भोट (कैलाश मानसरोवर) जाने मुख्य मार्गमा रहेको यो पुलको लम्बाइ १ सय २० मिटर छ । १ करोड ७८ लाख २८ हजारको लागतमा २०७४ मंसिरमै निर्माण सम्पन्न हुनुपर्ने पुल ठेकेदारले अलपत्र पारेपछि गाउँपालिकाका स्थानीय र जनप्रतिनिधिहरूले निर्माणका लागि ठेकेदारलाई दबाब दिँदै आएका थिए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *