दिपायल- शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दिपायल शाखा पनि बन्द गरिएको छ । सहकारीले केही दिनका लागि कार्यालय बन्द गरिएको सूचना टाँस गरेको छ । बचत कर्ताहरुले सहकारीका कर्मचारीहरुको खोजी गरिरहेका छन् । तर कर्मचारी भने कार्यालय बन्द गरेर फरार छन् ।
सहकारीमा जम्मा गरेको रकम झिक्ने बचतकर्ताको भिड लाग्न थालेपछि केही दिनका लागि कार्यालय बन्द गरिएको शाखा प्रबन्धक केशब कामीले बताए । “सबै बचतकर्ताहरु चल्ती, बचत र मुद्धती खाताको रकम झिक्न एकै पटक आएपछि रकम फिर्ता गर्न सकिने अवस्था रहेन,“उनले भने,“आन्तरिक व्यवस्थापन भइरहेकाले केही दिनका लागि कार्यालय बन्द गर्नु परेको हो । म अहिले धनगढी छु ।”
यता सहकारीका सेयरधनी बचतकर्ता रकम फिर्ता माग्न दैनिक कार्यालय धाउने गरेका छन् । सहकारीले जम्मा गरेको रकम निश्चत अबधिमा दोब्बरले फिर्ता हुने भन्दै बचत गर्न लालाहित गरेको बचतकर्ताहरुको गुनासो छ ।
दिपायल शाखाबाट ११ महिनाको अबधिमा पाँच करोड रुपैयाँ निक्षप संकलन गरेको उक्त सहकारीले अढाई करोड लगानी गरेको दाबी गरेको छ ।
शिवशिखर सहकारीबाट देशैभरका बचतकर्ताहरु बचत रकम फिर्ता माग्न थालेपछि त्यसको असर दिपायल शाखामा पनि परेको हो । सहकारीले निकालेको सूचनामा आर्थिक मन्दीका कारण बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकिएको उल्लेख छ । सहकारीका अध्यक्ष शुशिल बामनियाद्वारा हस्ताक्षर गरिएको सूचनामा पुजि व्यवस्थापन हुन नसकेका कारण दिपायल शाखा केहि दिनका लागि वन्द गरिएको उल्लेख छ ।
सहकारी संस्था मर्जर हुने प्रक्रिया अगाडी बढेको बताउँदैै शहकारीले मर्जर भएर पुँजी व्यवस्थापन नभएसम्मका लागि कार्यालय बन्द रहने जनाएको छ । बचतकर्ताहरुको रकम फिर्ता गर्न नसक्दा उक्त सहकारीको डडेल्धुरा, महेन्द्र नगर र धनगढी शाखामा पनि ताला लागेको छ ।







प्रतिक्रिया