
’दलहरूले ठिक ढंगले काम गर्न सकेनन्, दलहरूबाट अपेक्षा पूरा भएन, दलहरूबाट भिन्न विचार आएकाले चुनावमा स्वतन्त्र उम्मेदवारको संख्या बढेको हो,’ उनले भने, ’दलहरूभन्दा भिन्न तरिकाले काम होस् भन्ने जनताको चाहनाले पनि स्वतन्त्र उम्मेदवार मैदानमा आएका हुन्।’
२०७९ को आम निर्वाचनमा मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र नेकपा एमाले दुबैलाई स्वतन्त्र उम्मेदवारहरू टाउको दुखाइको विषय बनेका छन्। स्वतन्त्र उम्मेदवारहरूले चुनावी अंकगणित प्रभावित पार्ने अधिवक्ता एवं राजनीतिक विश्लेषक यज्ञराज जोशीले बताए। ’स्वतन्त्र उम्मेदवारले चुनावी अंकगणित प्रभावित पार्ने भएका छन्,’ उनले भने, ’दलका उम्मेदवारको जित हारको कारण स्वतन्त्र उम्मेदवार हुने निश्चित छ, स्वतन्त्र उम्मेदवारप्रतिको सहानुभूति पनि देखिन्छ।’
राजनीतिक दलहरूले असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा प्रदेशभर स्वतन्त्र उम्मेदवारी परेको विश्लेषकहरूको मत छ। पार्टीहरू भित्र गुट–उपगुट बीच टिकट खोस्ने प्रवृत्तिले पनि स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाएको बताइएको छ। यस्तै, पर्यटक उम्मेदवार हुने लालसाले पनि स्वतन्त्र उम्मेदवारको संख्या बढेको टिप्पणी गरिएको छ। यस्तै, राजनीतिलाई पैसा कमाउने व्यवसाय बनाउने, राजनीतिक लाभ लिएकाहरूले खाइपाइ आएको सुविधा त्याग्न नसक्दा पनि सम्भावना बोकेका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारी दिएको विश्लेषकहरूले बताएका हुन्।
पार्टी तथा तिनका नेताहरूको अकर्मण्यताको कारण स्वतन्त्रप्रतिको आकर्षण बढेको विश्लेषक जोशीले बताए।
प्रदेश तथा प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार भएका व्यक्तिहरूले चुनावी अंकगणित प्रभावित पार्ने भएका हुन्। राजनीतिक दलहरुलाई उम्मेदवारको अवस्थाका बिषयमा अंकलन गर्न समस्या हुने गरेको छ। स्वतन्त्र उम्मेदवारको प्रदेश र प्रतिनिधि सभाको गणितीय अवस्थासमेत बदल्न सक्ने अनुमान गरिएको छ




प्रतिक्रिया