डोटी — डोटी जिल्लाका विभिन्न पालिकाका वडा तथा बस्तीहरूमा लक्षित वर्गलाई लक्षित गरी ११५ जनालाई ५७५ बाख्रा र बोका वितरण गरिएको छ।
जोखिममा रहेका तथा विपन्न परिवारको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाको २ नम्बर वडा खुल्लेकमा १० जना, वडा नम्बर ९ मछेन्तोलामा १० जना, सायल गाउँपालिकाको वडा नम्बर ४ भल्मामा १५ जना, वडा नम्बर ६ दल्लेक र स्वाडामा १५ जनालाई बाख्रा र बोका वितरण गरिएको छ ।
त्यसैगरी पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर १ छेपलाडिमा १५ जना वडा नम्बर २ बगलेकमा १५ जना र वडा नम्बर ३ गैरागाउमा १० जना त्यस्तै आदर्श गाउँपालिकाको वडा नम्बर १ मा १० जना र वडा नम्बर ७ दहकालिकामा १५ जनालाइ सहयोग स्वरुप वितरण गरिएको हो ।
प्रतिव्यक्ति ४ वटा बाख्रा र १ वटा बोका (स्थानीय खरी जातका) दिनुका साथै, प्रत्येकको १ बर्षको बिमा र पीपीआर भ्याक्सिन सहित बाख्रा वितरण गरेको सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीका कार्यक्रम संयोजक दिनेश बमले जानकारी दिनुभयो ।
सिडिसी डोटी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित SHIELD-IPF परियोजना अन्तरगत उक्त सहयोग गरिएको थियो ।
सहयोग पाउनेमा वर्ल्ड भिजनमा दर्ता भएका बालबालिकाका परिवार अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित, टुहुरा बालबालिका तथा पहिरो वा अन्य विपद्को जोखिममा रहेका परिवारलाई प्राथमिकता दिइएको कार्यक्रम संयोजक बमले बताउनुभयो ।
बाख्रा र बोका पाएपछि खुसी व्यक्त गर्दै लाभग्राहीहरूले विपन्न तथा जोखिममा रहेका परिवारका लागि यो सहयोग जीविकोपार्जनको मजबुत आधार बनेको बताए । आफ्नै गाउँ-ठाउँमा सप्रिने स्थानीय खरी जातका बाख्रासँगै एक वर्षको बीमा र खोपको समेत व्यवस्था भएकाले अब निर्धक्क भएर व्यावसायिक बाख्रा पालनतर्फ लाग्ने हौसला मिलेको उनिहरुको भनाइ थियो ।
उनिहरुले यो सहयोगलाई सही सदुपयोग गर्दै आगामी दिनमा आफ्ना बालबालिकाको हेरचाह र घरपरिवारको आम्दानी बढाउन पूर्ण रूपमा मिहिनेत गर्ने उनहरुको भनाइ थियो ।







प्रतिक्रिया