बाढीपीडितका लागि जोरायल गाउँपालिकाले ३३ लाख २८ हजार सहयोग गर्ने

पाँजलो न्युज
१९ भदौ २०८३ १:४१
बाढीपीडितका लागि जोरायल गाउँपालिकाले ३३ लाख २८ हजार सहयोग गर्ने

डोटी — रसुवाको भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि डोटीको जोरायल गाउँपालिकाले ३३ लाख २८ हजार ६ सय ४१ रुपैयाँ सहयोग गर्ने भएको छ।
‎बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।
‎गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्थानीय विपद् व्यवस्थापन कोषबाट २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ उपलब्ध गराइनेछ। त्यस्तै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले आफ्नो सेवा–सुविधाबाट १५ दिन बराबरको रकम सहयोग गर्ने निर्णय भएको छ। यसबाट २ लाख ७ हजार ९ सय ५२ रुपैयाँ संकलन हुनेछ।
‎गाउँपालिकाका अधिकृतस्तरका कर्मचारीले ७ दिन, सहायकस्तरका कर्मचारीले ५ दिन तथा श्रेणीविहीन कर्मचारीले २ दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। कर्मचारीबाट ७ लाख ६० हजार ८ सय ४२ रुपैयाँ सहयोग हुने गाउँपालिकाले जनाएको छ।
‎त्यसैगरी गाउँपालिकाअन्तर्गतका शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट समेत सहयोग गरिने भएको छ। माध्यमिक तह प्रथम श्रेणीका शिक्षकबाट १० दिन बराबरको तलब, माध्यमिक तह द्वितीय र तृतीय श्रेणी, निम्न माध्यमिक तह प्रथम र द्वितीय श्रेणी तथा प्राथमिक तह प्रथम श्रेणीका शिक्षकबाट ७ दिन बराबरको तलब सहयोग गरिनेछ।
‎निम्न माध्यमिक तह तृतीय श्रेणी तथा प्राथमिक तह द्वितीय र तृतीय श्रेणीका शिक्षकबाट ५ दिन बराबरको तलब तथा विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र सहयोगी कर्मचारीबाट २ दिन बराबरको तलब सहयोग गरिने निर्णय भएको छ। शिक्षक तथा विद्यालय कर्मचारीबाट २१ लाख ४ हजार २ सय ९३ रुपैयाँ सहयोग हुने जनाइएको छ।
‎यसरी स्थानीय विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीबाट गरी कुल ३३ लाख २८ हजार ६ सय ४१ रुपैयाँ बाढी प्रभावितका लागि सहयोग गर्न लागिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन्।
‎गाउँपालिकाले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको यथाशीघ्र खोजी गर्न सम्बन्धित पक्षसँग आग्रहसमेत गरेको छ।
विपद्को विषम परिस्थितिमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतका लागि नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायबाट भइरहेका प्रयासमा पूर्ण ऐक्यबद्धता जनाउँदै आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *