सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

पाँजलो समाचार
१ भदौ २०८१ १:४६
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

डोटी- आज भाद्र संक्रान्ति । सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै छ । ओल्को भनेको सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाइन्छ ।

भाद्र संक्रान्तिका दिन सुदूरपश्चिमा यो पर्व धुमधामसँग मनाइन्छ । साउने झरीका कारण प्राकृतिक प्रकोपलगायत दादुरा, झाडापखाला, लुतो र हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाटबाट सुरक्षित रहेको खुशियालीमा ओल्के पर्व मनाउने चलन छ । आज आफूभन्दा जेठा व्यक्ति र मान्यजनलाई सम्मानस्वरूप कर्कलाको भित्रि पात(गाभा), फलफूल र मीठो–मसिनो खाना खाने र नयाँ लत्ता लगाउनु यस पर्वको विशेषता हो ।

अघिल्लो दिन राति जंगलबाट जडीबुटीहरू ल्याई त्यसको लेप हत्केल्लामा लगाएर फर्सीको पातले बाँधिन्छ । बिहान उठ्दा कसैको हत्केल्ला रातो भएन भने राति पुतना बुढी आएर उसको हात चाटेको भन्ने भनाइ छ । आजकै दिन दिन गोठालाहरूले राक्षसी पुनता बुढीको आकृति थापना गर्छन् । सल्लाको लिङ्गोमा स्याउला, घाँस झुण्ड्याएर बनाइने आकृतिलाई “बुढी” भन्ने चलन छ । पौराणिक किंबदन्ती अनुसार यस पर्वमा भगवान् कृष्णले राक्षसी पुतनालाई मारेपछि उनका साथीहरूले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।

भाद्र संक्रान्तिमा थापना गरेको बुढी असोज संक्रान्तिमा पोल्ने गरिन्छ । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउँसोभरी रमाइलो गर्ने र बेलुका बुढी थाप्ने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *