रुपन्देहीका नौ गाउँमा आगलागी, लाखाैँकाे क्षति

पाँजलो न्युज
९ वैशाख २०८१ ६:३१
रुपन्देहीका नौ गाउँमा आगलागी, लाखाैँकाे क्षति

तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ। पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ।

रोहिणी गाउँपालिका– ६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा विष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ।

आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेका उनले बताए। प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियो।

गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ। वडा नम्बर ७ सिसै बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत् चुहिँदा आगलागी भएको थियो। उक्त गोठमा रहेका नौ बाख्रासहित रु. तीन लाखभन्दा बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका– ९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगो होटेल पवन प्यालेसपरिसरमा पुगेको थियो। यसबाट प्लाइउड, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्नलगायत रु. सात लाखबराबरको क्षति भएको प्रवक्ता भट्टले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *