सुदूरपश्चिममा नयाँ वर्षसँगै आज सिस्नो खेलेर ‘बिसु’ पर्व मनाइँदै

संबाददाता
१ वैशाख २०८१ ७:०३
सुदूरपश्चिममा नयाँ वर्षसँगै आज सिस्नो खेलेर ‘बिसु’ पर्व मनाइँदै

डोटी- सुदूरपश्चिममा आज शनिबार उल्लासका साथ विशु पर्व मनाइदै छ।नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने परम्पराअनुसार सिस्नु खेलेर मनाउने गर्दछन् । बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि यहाँका गाउँबस्तिमा रौनकता छाएको छ ।

रोजगारीका लागि बाहिर गएकाहरु पनि विशु मनाउन घर फर्किएका छन्। नयाँ वर्षको पहिलो दिन देवर भाउजु एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइने गरिन्छ। यस दिन आफैले पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ।नयाँ वर्षका दिन मनाइने विशु पर्वमा विशेषगरी साली र भिनाजु, देवर र भाउजू र नन्द र भाउजूबिच एकआपसमा सिस्नु हानाहान गरेर खेल्ने चलन छ। हाँसोठट्टा गर्न मिल्ने नाताको रूपमा हेरिने एकले अर्कोलाई सिस्नुको मुठोले हातखुट्टा झमझमाउने गरी हान्ने गर्छन्। अरू व्यक्तिले पनि अनिवार्य रूपमा पोलेको थाहा हुनेगरी आफ्नै शरीरमा सिस्नु लगाउँछन्।

विशु पर्वमा घ्यू, तेलजस्ता चिल्लो पदार्थ प्रयोग गरेर विशेष परिकार(सेलरोटी, खीर, पुरी, माँडा, बटुक)बनाएर खाइन्छ। सिस्नुले डाम्दा खानेकुरा पच्ने तथा नसा र छालासम्बन्धी रोग पनि निको हुने जनविश्वास छ। तर चिकित्सक भने सिस्नुले पोल्दा खानेकुरा पचाउन सजिलो हुने र नसा वा छालासम्बन्धी रोग निको हुने कुरा प्रमाणित तर्क नभएको बताउँछन्।

विशेष गरी सुदूरपश्चिमका दार्चुला, अछाम, डोटी, डडेलधुरा, बझाङ, बाजुरा र बैतडीका साथै कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले नयाँ वर्षका दिन विशु पर्वला मनाउँछन्। संस्कृतिविद् कैलाश पाण्डेका अनुसार विशाखा नक्षत्र भएकोले वैशाखको पहिलो दिनलाई विशु भन्ने गरिन्छ। यो दिन सुदूरपश्चिमका हरेक शिवालय र मन्दिरहरू पूजाआजा गर्ने, न्वागी ९नयाँ अनाज० चढाइने उनी बताउँछन्। गहुँ, जौ, मुसुरो, चनाजस्ता अन्नबाली भित्र्याएपछि मन्दिरमा चढाइसकेपछि नयाँ अन्नको न्वागी पकाएर खाइन्छ।

यसलाई ‘अपुच्छे दिन’ मानेर नयाँ कामको शुभारम्भ समेत गर्ने चलन पनि सुदूरपश्चिम प्रदेशमा छ। नयाँ लुगा लगाउने, विवाह, व्रतबन्ध गर्ने, साना नानीबाबुको कान छेड्ने, बालबालिकालाई अनाज खुवाउने, नयाँ घर निर्माण गर्ने, नयाँ व्यापार व्यवसाय सुरु गर्ने र जीवनका अरू महत्वपूर्ण अनुष्ठान पनि विशु पर्वकै दिन गरिन्छ।

काम र रोजगारीको सिलसिलामा घरबाहिर गएका सुदूरपश्चिमबासी विशु पर्वमा घर आउँछन्। यो पर्व नजिकिँदै गर्दा सबैले लिपपोत गरेर र कमेरो लगाएर घर चिटिक्क पार्छन्। प्रत्येक चैत्र २० गते नानी विशु र वैशाख सङ्क्रान्तिलाई ठूली विशुको रूपमा मनाउने चलन छ। यो पर्वलाई विशु सङ्क्रान्ति, बिखती तिहार, विशु पुज्ने दिन भन्ने समेत गरिन्छ। विशु पर्वजस्तै सुदूरपश्चिमबासीले वर्षमा पर्ने बाह्रवटै सङ्क्रान्तिलाई पर्वका रूपमा मान्दै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *