तीन दशकयताको संघर्षले प्रदेशीराम डोटीमा सबैभन्दा नाम चलेको फोटो स्टुडियो व्यापारीका रूपमा चिनिएका छन् । ०६३ सालमा दिपायलमै घरजम गरेका उनले यहीं पिपल्ला बजारमा स्थायी बसोबास बनाएका छन् । ‘पहाड उक्लेपछि तराई झर्ने कल्पना नै भएन,’ उनले सुनाए, ‘सुरुमा आफन्त नहुँदा नियास्रो लागे पनि अब यतै संघारीहरू बढेका छन्, माया यतैको लाग्छ ।’
प्रदेशीरामकै जस्तो कथा चौधरी समुदायका युवाको छ, जो कामको खोजीमा कुनै समय पहाड उक्लेका थिए र पहाडकै मायाले यतै अड्किएका थिए । ०६३ सालमा एउटा मदिरा कम्पनीको बजार प्रतिनिधि भएर बुझावनप्रसाद चौधरी पहाड उक्लिए । सुरुका तीन वर्ष कम्पनीमै जागिर गरे । त्यसक्रममा यतै संघारीहरू बढे, आफन्त थपिए । तत्कालीन सशस्त्र द्वन्द्वका कारण गाउँबाट झरेकाहरूको बाक्लो बसाइले दिपायलको पिपल्ला बजारको रौनक नै बेग्लै थियो ।
तीन वर्षको बसाइमा बुझावनले आफ्नो भविष्य जागिर होइन, व्यापार भन्ने बुझे । त्यतिबेला व्यवसाय थालेर सुरु भएको संघर्षले उनलाई दिपायलमै स्थापित गरायो । तराईमा बाल्यकाल बिताए पनि युवावस्था भने उनले दिपायलमै काटे । ‘संघारीहरू यतै छन्, यही भूमि प्यारो लाग्छ । खै कसरी कसरी मन यतै अडिन्छ,’ उनले भने । यतै रहँदा बस्दा उनले श्रीमतीलाई स्टाफ नर्स पढाए । उनी लोकसेवा पास गरेर सरकारी कर्मचारी भइन् । बुझावन दिपायलमा सेकुवा कर्नरमार्फत राम्रो व्यापार गरिरहेका छन् । उनले दिपायलमा जमिन पनि जोडिसकेका छन् ।
जागिर तथा व्यापारका सिलसिलामा पहाड चढेका यी दुई पात्र उदाहरण मात्र हुन् । पछिल्लो समय घरजम गरेर बसेका थारू समुदायको संख्या दिपायलमा बढ्दो छ । स्थानीय युवा रोजगारी छैन भन्दै भारत र विदेश पलायन भइरहेका बेलामा थारू तन्नेरीहरू भने पहाडतिर सोझिएका छन् । इमानदार र परिश्रमीका रूपमा चिनिने थारू समुदायका युवा यहाँ ठेक्कापट्टा, व्यापार, कम्प्युटर, लेखापाल, गाडी चालकजस्ता पेसामा छन् । ‘इमानदारी र मिहिनेती भएकाले उहाँहरूलाई अधिकांशले विश्वास गर्छन्’, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउदले भने, ‘बरु यताका युवामा विचलन बढी छ, कामको सम्मान नगर्ने प्रवृत्ति भएकाले अधिकांश व्यापारी थारूकै युवालाई काममा राख्न रुचाउँछन् ।’ अहिले दिपायल मात्र २ सयभन्दा बढी थारू समुदायका व्यक्ति काम गरिरहेको हुन सक्ने साउदले अनुमान सुनाए । कतिपय थारू डोट्याल भाषामा पोख्त रहेको बताउँदै साउदले उनीहरू यतैका मौलिक परिकार र रीतिरिवाजमा रमाइरहेको बताए ।






प्रतिक्रिया