दिपायल- एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई एमाले नेताहरूले नै निषेधमाथि निषेध गर्ने गरिरहेको कुरा बाहिर आएको छ। भीम रावललाई पार्टी जिम्मेवारीबाट विमुख राख्न निकै ठुलो चलखेल जारी राखेको र त्यसमा केन्द्रदेखि अछाम जिल्ला तहसम्मका नेता कार्यकर्ताहरू सक्रिय रहेको खुलेको हो ।
भीम रावललाई जिम्मेवारी दिएर काममा फर्काउनका लागि जिल्ला कमिटी अछामको बैठकमा रावल समर्थक नेता कार्यकर्ताहरूले प्रस्ताव पेस गरेका भए पनि बैठकका शीर्ष नेताहरूले भने उनीहरूको मागलाई बैठकको एजेन्डामै राख्न अस्वीकार गरेका छन् ।त्यही विषयलाई लिएर फागुन २७ गते मंगलसेनमा बसेको जिल्ला कमिटीको बैठक दुई घण्टासम्म अवरुद्ध भएको बुझिएको छ ।
अर्कोतिर यसअघि प्रदेश कमिटीले अछाम जिल्ला अधिवेशन चैत १९/२० गते गर्ने निर्णय गरेको थियो । तर फागुन २७ गते प्रदेश अध्यक्ष नै उपस्थित रहेको जिल्ला कमिटीको बैठकले प्रदेशकै बैठकको निर्णयलाई अवज्ञा गर्दै अधिवेशनको मिति सारेर जेठमा गर्ने निर्णय गरेको बुझिएको छ । एक नेताले भने ‘जेठ महिनामा पनि कति गते गर्ने भन्ने किटान नै गरिएको छैन’ ‘यसको अर्थ जिल्ला अधिवेशनलाई सकेसम्म पछाडि धकेल्न खोजेको जस्तो छ ।’ चन्द्र बोहरा अध्यक्षमा पुनः दोहोरिन चाहन्छन् भने शिवप्रसाद उपाध्याय अध्यक्षका आकांक्षी छन् । उनीहरू एमालेमा एकै गुटका भएकाले सम्भावित टकराबलाई पन्छाउन अधिवेशन पर सार्ने रणनीति लिइएको एक नेताले भने।
प्रतिक्रिया