धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको खोला–नाला अतिक्रमण हटाउने अभियान थालेको छ। वडा नम्बर २ को बैयाबेहडीबाट अतिक्रमण हटाउन सुरु गरिएको हो।
धनगढी उपमहानगरपालिकाले गत वर्ष पहिलो चरणमा करिब ७ किलोमीटर खोला–नालाको अतिक्रमण हटाएको थियो। यो वर्ष दोस्रो चरणको अतिक्रमण हटाउने अभियान थालेको हो। बैयाबेहडी नालाको बाँकी रहेको अतिक्रमण हटाइएपछि वडा नम्बर १ र ८ का खोलाहरूमा गरिएको अतिक्रमण हटाउने तयारी उपमहानगरपालिले गरेको छ। गत वर्ष खाली गरिएको केही स्थानमा पुनः अतिक्रमण गरिएको पाइएकाले ती ठाउँमा अतिक्रमण हटाउन लागेको खर्च अतिक्रमणकारीबाट असुल गर्ने तयारी उपमहानगरले गरेको छ। ‘धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको खोला नाला अतिक्रमण हटाउने अभियान थालेको छ। वडा नम्बर २ को बैयाँबेहडी नालाबाट अतिक्रमण हटाउन सुरु गरिएको छ,’ डिभिजनल इन्जिनियर दिजराज भट्टले भने।
धनगढी नगर विकास समितिले विगतमा वडा नम्बर १ देखि ५ सम्मको ९३२ बिघा सार्वजनिक जग्गा विभिन्न समयमा व्यक्तिलाई बिक्री गरेको थियो। यसरी सार्वजनिक जग्गा बिक्री गर्दा खोला समेत नापेर बिक्री गरेको देखिन्छ। धनगढीको धेरैजसो स्थानमा खोला किनारमा जग्गा भएकाहरूबाट अतिक्रमण गरिएको उपमहानगरले बताउँदै आएको छ। यो वर्ष सार्वजनिक तालहरूमा भएको अतिक्रमण पनि हटाउने काम भइरहेको डिभिजनल इन्जिनियर भट्टले बताए।
प्रतिक्रिया