कैलारी गाउँपालिकामा स्थानीयवासी काठेपुल तरेको पचास रुपियाँ

पाँजलो न्युज
१२ माघ २०८० ६:४४
कैलारी गाउँपालिकामा स्थानीयवासी काठेपुल तरेको पचास रुपियाँ

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा स्थानीयवासी काठेपुलबाट ओहोरदोहोर गरेबापत ५० रुपियाँ तिर्न बाध्य छन् । स्थानीय मोहना नदीमा काठेपुल तरेबापत यतिको शुल्क तिर्ने गरेका हुन् ।

पुल तर्दा मोटरसाइकलसहित व्यक्तिको ५० रुपियाँ, व्यक्तिको २० रुपियाँ र साइकलसहित व्यक्तिको २५ रुपियाँ शुल्क लिइने गरिएको छ । स्थानीय स्तरमा पुलपुलेसा, बाटाघाटा निर्माण गरेर जनतालाई सेवा, सुविधा दिने मुख्य जिम्मेवारी पाएको पालिकाले ठेक्का दिएर उल्टै आर्थिक लाभ लिने गरेको छ ।
स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ९ को ५४ मा पालिकाले कानुनबमोजिमबाहेक कर लगाउन, उठाउन वा ऋण लिन नपाउने उल्लेख छ । सो ऐनले स्थानीय तहले एकीकृत सम्पत्ति, घरजग्गा कर, भूमि कर (मालपोत), घरजग्गा बहाल कर, व्यवसाय कर, बहाल बिटौरी शुल्क, पार्किङ शुल्क, जडीबुटी कबाडी र जीवजन्तु कर र सेवा शुल्क उठाउन पाउने व्यवस्था गरेको छ ।

नदीमा काठेपुल वा डुङ्गा सञ्चालनका लागि स्थानीय सरकार सञ्चालन ऐनमा स्पष्ट व्यवस्था नरहे पनि घाट ठेक्काको अभ्यास अन्यत्र पनि भइरहेकाले कैलारी गाउँपालिकाले पनि ठेक्का दिएको सूचना अधिकारी यगम कलेलले बताए । स्थानीय राजस्व परामर्श समितिको सिफारिसका आधारमा पालिकाले आफ्नो आन्तरिक आम्दानीका लागि घाट ठेक्का दिएको छ तर पालिकाले शुल्क निर्धारण नगर्दा ठेक्का पाएकाले आफूखुसी शुल्क उठाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *