कञ्चनपुर- सुदूरपश्चिम तराईवासी थारू समुदायमा आज अट्वारी पर्व मनाइँदै छ । निराहार व्रत बसेर आइतबार र सोमबार २ दिनसम्म यो पर्व मनाउन लागिएको हो । कञ्चनपुर र कैलालीमा धुमधामसँग यो पर्व मनाउने गरिन्छ ।
अन्य महिलाले तीज मनाउँदै गर्दा थारू समुदायका महिलाले सो पर्व मनाउँदै आएका छन् । मध्यरातमा दर खाएपछि पर्वको पहिलो दिन आइतबार आधा दिनसम्म निराहार व्रत बस्ने चलन रहेको छ । व्रतालुहरूले दिउँसोतिर पूजाआजा गरेर मात्र जल ग्रहणका साथै अन्डीको रोटी, फलफूल, दुध खाने चलन रहेको छ ।
उक्त परिकारहरू खानुभन्दा अगाडि एक भाग निकालेर आफ्ना विवाहित दिदीबहिनीका लागि छुट्टै राख्ने गर्दछन् । पर्वको दोस्रो दिन व्रतालुहरूले बिहान स्नान गरेर पूजाआजा गर्ने र घरमा बनाइएका मिठा मिठा परिकार खाने गर्दछन् । दोस्रो दिन खरिया, फुलौरी, खुर्मा, माछा, मासु जस्ता परिकार खाने चलन रहेको छ । यसलाई थारू भाषामा ‘फरहार’ गर्ने भनिन्छ । अन्डीको रोटीसहित खानाका सबै परिकार पर्वको दोस्रो दिन आफ्ना विवाहित छोरीचेलीलाई उपहारका रूपमा दिने चलन छ ।
प्रतिक्रिया