घुससहित बुडरका बन अधिकृत पक्राउ(अडियो सहित)

मोहन शाही
२८ भदौ २०८० १०:२६
घुससहित बुडरका बन अधिकृत पक्राउ(अडियो सहित)
(डोटी)– नगद ५ हजार नगद घुससहित उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक बन अधिकृत भक्तराज गिरिलाई बिहीबार नियन्त्रणमा लिएका छन् ।
जोरायल गाउँपालिका वडा नं. २ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक बनका उपभोक्ताहरूले सहायक बन अधिकृत गिरिलाई रंगेहात नियन्त्रणमा लिएका थिए ।
सहायक बन अधिकृतबाट भेटिएको रकम
स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकेका छन् । आबादी जमिनको दाउराका लागि छुट पुर्जी दिन घुस माग्न थालेपछि भ्रष्ट बनअधिकृतलाइ प्रमाणसहित पक्राउ गरेको भण्डारीले बताएका छन् । भण्डारीसँगै विभिन्न सामुदायिक बनका उपभोक्ता समेत भ्रष्ट कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै इलाका प्रहरी कार्यालय बुडर आएका छन् ।
इलाका प्रहरी कार्यालय बुडरका सई हरी भान सि साउँदले बन अधिकृत गिरीसहित दुवै पक्ष प्रहरी कार्यालयमा छलफल गरिरहेको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृतमा जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारीमार्फत जानकारी लिन सक्ने बताए ।
सुरुमा सहायक बन अधिकृत गिरीले छुट पुर्जीका लागि १० हजार नगद मागेको भण्डारीको आरोप छ । ‘सो रकमले पनि छुट पुर्जी नदिएर सताउन थालेपछि बिहीबार बिहान ५ हजार बोकेर लगे’, भण्डारीले भने,‘जिल्लामा डेढ÷दुई लाख दिएर पुर्जी माग्ने हामीलाई १०÷१५ हजारमा भुलाउने भन्दै आएका थिए । आबादीमा रहेको दाउरालाई छुट पुर्जी माग्न पनि घुस माग्न थालेपछि रंगेहात पक्राउ गरेको हुँ ।’ भण्डारीसँग घुस लिदाखेरीको अडियो समेत रहेको छ । सो अडियोमा भण्डारीले बन अधिकृत गिरीलाई अस्तिको १० र यो यत्ति है भन्दै ५ हजार रुपैयाँ दिएको आवाज छ ।  अधिकृत गिरीले हाँस्दै लोड गर्न केटाहरूलाई अलिकति भन्दै रकम स्विकारेका छन् ।
बन अधिकृत गिरीले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । सो घटना सम्बन्धमा प्रहरी कार्यालयमा छलफलमै रहेकाले पछि मात्र प्रतिक्रिया दिने भन्दै गिरी पन्छिन खोजे । हालै मात्र सरुवा भई आएका जिल्ला बन अधिकृत गोकुल रिजालसंग घटनाबारे बुझ्न खोज्दा भने फोन उठ्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *