बैतडी- डिभिजन वन कार्यालय बैतडीले वन्यजन्तुबाट बालीमा भएको क्षतिको राहातका लागि आवश्यक कागजात सहितको फाइल पेश गर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै डिभिजन वन कार्यालय बैतडीले वन्यजन्तु बाँदर, बदेल, दुम्सी लगायतका जनावरले बालीनालीमा पु¥याएको क्षतिको राहातका लागि आवश्यक कागजातको विवरणसहित फाइल पेश गर्न भनेको हो ।
राहातका लागि वडाका प्रतनिधि, प्रहरी प्रतिनिधि र वन कर्मचारीको प्रतिनिधिहरुको सयुक्त टोलीको स्थलगत निरिक्षण गरि सो को मुचुल्का र क्षति भएको बालीनाली भएको ठाउँको सयुक्त निरिक्षण गरिएको प्रष्ट देखिने फोटो अनिवार्य रुपमा पेश गर्न र राहात निर्देशिका २०८० बमोजिमका आवश्यक सबै कागजातहरुको फाइल पेश गर्न आग्रह गरिएको छ ।
डिभिजन वन कार्यालयका अनुसार जिल्ला मातहत रहेको ६ वटा सव डिभिजन कार्यालयबाट वनका कर्मचारीहरु खटिने छन् । वनका कर्मचारीसहित नजिकैको प्रहरी चौकी र वडा कार्यालयबाट प्रतिनिधि मगाएर किसानहरुले स्थलगत अनुगमन गर्न आग्रह गर्न सक्नेछन् । किसानहरुले इलाका वन कार्यालयका कर्मचारीहरुसँग आवश्यक समन्वय गरि क्षतिको विवरणसहितको मुचुल्का तयार पार्न सहयोग गर्ने डिभिजन वन कार्यालय बैतडीका आइटी अफिसर मदन जोशीले जानकारी दिए ।
बैतडीमा जिल्ला सदरमुकाम नजिकै रहेको मालिका सवडिभिजन, पाटन सव डिभिजन, मेलौलीमा रहेको मेलौली कुलाउ सव डिभिजन, गोकुलेश्वर रुद्रेश्वर सव डिभिजन, सिगास सव डिभिजन, पुर्चाैडीको हाट सव डिभिजन मध्ये पायक पर्ने सव डिभिजनबाट किसानहरुले आवश्यक सहयोग माग्न सक्नेछन् । थप जानकारीका लागि ०९५–५२०१५२मा सम्पर्क गर्न आग्रह समेत गरेको छ । बालीनाली क्षति भएको प्रमाणित भए वर्षमा एक पटक बढीमा १० हजार रुपैयासम्म राहात पाउने डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम प्रशाद कँडेलले जानकारी दिए ।
राहात झन्जटीलो राहात प्रक्रिया
बैतडीमा अधिकांश किसानाको मकैबालीमा क्षति पुर्याएको छ । डिभिजन वन कार्यालयले भने अनुसारको फाइल पेश गर्न किसानहरुलाई सकस पर्ने देखिएको छ । वनका कर्मचारी, प्रहरी र जनप्रतिनिधिलाई नोक्सानी पुर्याएको खेतमा लगेर स्थलगत तस्बिर र मुचुल्का तयार पार्नुपर्ने छ । नोक्सानी पुर्याएका ठाउँमा सबै प्रतिनिधिहरुलाई बोलाउन झन्जटीलो हुने किसान राम सिंह ऐरले बताए । अधिकतम १० हजार मात्रै रहात मिल्ने भनिएकोमा अधिकांस किसानहरुलाई प्रक्रियागत तरिकाले कागजात भिडाउन र डिभिजन वन कार्यालय आउन जानमै खर्च हुने भएकाले समस्या हुने गरेको उनले बताए ।
प्रतिक्रिया