डोटीमा सवारी पार्किङ सडकमै, बसपार्क भने सुनसान

पाँजलो न्युज
११ भदौ २०८० ७:३६
डोटीमा सवारी पार्किङ सडकमै, बसपार्क भने सुनसान
दिपायल- डोटी सिलगढी बजारस्थीत बसपार्कमा सवारी पार्किङ नगरिदा सडकमै रोक्ने गरिएको पाइएको छ। सार्वजनिक यातायातका साधन,गाडी, मालवहाक ट्रक, नगर बस तथा मोटरसाइकल सडकमा पार्किङ गर्दा बसपार्क भने सुनसान बनेको हो।
गाडीहरु सडकमै पार्किङ बसपार्क नभएर भन्दापनी चालकहरु आफुलाई पायक पर्ने ठाउँमै रोक्ने गरेका छन्। यात्रुहरु र आफूहरुलाई अपायक भएको भन्दै यातायात सञ्चालकहरुले सडकमै गाडी पार्किङ गर्ने गरेका छन् । बसपार्कमा टिकट काउण्टर, यात्रु प्रतिक्षालय र शौचालयको समेत व्यवस्था गरिएको भएपनि सवारी साधन भने पार्किङ नहुने समस्या रहेको छ। जिल्ला प्रहरी कार्यालय डोटीको अगाडि लहरै गाडीहरु सवारीचालकहरुले राख्ने गरेका छन् ।

२०५४ सालमा जिल्ला सदरमुकाम सिलगढी बजारमा बसपार्क निर्माण भई २०५५ सालदेखि केही सञ्चालनमा आएको थियो। नगरपालिकाको स्वामित्वमा रहेको उक्त बसपार्क ४ रोपनी जमिनमा बनेपछि पार्किङ शुल्क उठाउन नगरपालिकाले एक जना कर्मचारीको समेत व्यवस्था गरेको थियो । तर स्थानीयबासीहरुले १२ वर्षसम्म राम्रैसँग चलेको उक्त बसपार्क आजभोलि भने सुनसान भएको बताएका छन् । स्थानीय बिक्रम केसीले बसपार्क निर्माण गर्ने नाममा सरकारी लगानीको दुरुपयोग भएको र सुुविधा युक्त बसपार्क हुँदाहुँदै बसपार्कबाट गाडीहरु सञ्चालन गर्न नसक्नु सम्बन्धित निकायको कमजोरी रहेको बताए।

बसपार्क आवश्यक नभए बसपार्कको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्नुपर्छ उनले भने, साँघुरो राजमार्गमा दुईतर्फै गाडी पार्किङ गर्दा सम्बन्धित निकाय मुखदर्शक बनेको छ । जिल्ला प्रहरी कार्यालयसँगैको चेकपोष्ट अगाडि मुल सडकको दायाँबायाँ पार्किङ हुने साधनहरुले अछाम, बाजुरा आउजाउ गर्ने साधनहरुले निकै सास्ती खेप्नु परेको छ । यस्तै सिलगढी–पूर्वीचौकी रुटमा चल्ने सार्वजनिक यातायातका साधनहरु नाचन्थली मोडमा सडकमै पार्किङ हुने गरेका छन् ।

यस्तै अर्का स्थानीय प्रशान्तराज जोशीले बसपार्क सञ्चालनमा ल्याउन नसक्ने भए यसमा डान्सबार खोल्नु प¥यो भन्दै व्यङ्ग्य गरे । समयमै यातायातको उचित व्यवस्थापन नगरेर सरोकारवाला निकायहरु कुनै अप्रिय दुर्घटनाको पखाईमा रहेको उनले महसुस गरे।स्थानीय व्यापारी गिरी बोगटीले कुनै बेला धेरै चहलपहल हुने बसपार्क सञ्चालन नहुँदा सुनसान बनेकोमा चिन्ता ब्यक्त गरेका छन्। उनले बसपार्क सञ्चालन नहुँदा व्यापार व्यवसायमा समेत मन्दी आएको र धेरै जसो व्यवसायी पलायन हुने गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *