५ दिने कथा वाचन तालीम सम्पन्न

राज पार्की
८ भदौ २०८० २:५१
५ दिने कथा वाचन तालीम सम्पन्न

(डोटी) – वर्ल्ड भिजन इन्टरनेसनल नेपालमा दर्ता भएका बालबालिकाका लागि ५ दिने कथा वाचन तालीम दिपायलमा सम्पन्न भएको छ । आइतबारबाट दिपायलको वर्षा होटेलमा पढ्न लेख्न नजान्ने बालबालिकाको भाषिक विकास गर्न तथा क्षमता विकासमा सहयोग गर्न, सस्वर वाचन गर्न, पढाइमा सुधार ल्याउन तथा बालबालिकाको पृष्ठपोषण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको तालीम बिहीबार सम्पन्न भएको हो ।


तालिममा कथा पठन प्रक्रिया, कथा वाचनका खम्बा, कथा वाचन गर्ने तरिका, (पाठक श्रोता, दर्शक)ले देख्ने गरी बस्ने, कथा वाचनका चालहरू बारेमा दर्ता गरिएका बालबालिकालाई सिकाइएको थियो । तालीमले गर्दा आफ्नो भाषिक सीप र सिकाइ क्षमतामा वृद्धि भएको सहभागी दिपायल सिलगढी नगरपालिका वडा नं २ कि शर्मिला नेपालीले बताइन । उनले भनिन,  ‘म बोल्न पनि लजाउने थिए तालिमले गर्दा मलाई बोल्ने क्षमता बनाइ दिएको छ, म तालिममा सिकेका कुरालाई समुदायमा गएर व्यवहारमा ल्याउने छु ।’


बालबालिका कसरी सिक्छन्, बालबालिकाको ध्यानाकर्षण कसरी गर्न सकिन्छ, बालबालिकाको ज्ञान कसरी बढाउन सकिन्छ भन्ने विषयमा आफू तालिमबाट जानकार भएको सहभागी आदर्श गाउँपालिकाका सन्तोष परियारले बताए । यस्तै तालिममा बोल्दै वर्ल्ड भिजन इन्टरनेसनल नेपाल डोटीका स्पोन्सरशिप फिल्ड संयोजक गांगी बलायरले समुदाय गएर प्रभावकारी रूपमा व्यवहारमा लागू गर्न र समुदायमा अरू दर्ता भएका बालबालिकालाई पनि क्रियाशील भएर सिकाउन सुझाव दिनुभयो ।

बाल दिवस र विश्व साक्षरता दिवसको अवसरमा बालबालिकाको क्षमता विकास गर्न उक्त तालीम आयोजना गरिएको सामुदायिक विकास केन्द्र (सि डिसी) डोटीका कार्यक्रम संयोजक दिनेश बमले बताउनुभयो । समुदायमा गएर बालबालिकालाई ३ दिन सम्म उनीहरूले कथा पढाउने बताए । बालबालिकालाई तालिममा सिकेका कुरालाई बालबालिका पनि सिकाउन सहभागी सिकाउन सुझाव दिनुभयो ।

समावेशी तथा गुणस्तरीय शिक्षा प्राविधिक कार्यक्रम अन्तरगत भइरहेको उक्त कार्यक्रम सामुदायिक विकास केन्द्र (सि डिसी) डोटी र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भएको थियो । कार्यक्रममा दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, सायल गाउँपालिका र आदर्श गाउँपालिकाका २६ जना दर्ता भएका बालबालिकाको सहभागिता रहेको थियो । ५ दिने तालिमको सहजीकरण यश श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *