(डोटी) – केआइसिंह गाउँपालिकाले थालेको अभियान तीव्र गतिमा बढिरहेकै बेला वडा नं. २ तिखात्तरका युवाहरू पनि शनिवारबाट श्रमदानमा जुटेका छन् । युवाहरूले राजपुर चवराचौतारा सडक खण्ड अन्तर्गतको वडा नं. २ मा पर्ने चिल्की मोडमा श्रमदानबाट सडकमा सोलिङ्ग भरान गरिरहेका छन् ।
बर्सातले बाटो बिग्रदा सवारीसाधनहरुलाइ गुड्न कठिनाइ भइरहेकाले सोलिङ्ग भरान गरिरहेको स्थानीय युवा रोहित बोगटीले बताए । सो सडक खण्डमा ट्याक्टर समेत फसेर बाहिर निस्कन गाह्रो हुँदै आएको छ । ‘बिग्रिएका सडक बनाउनु सरकारको दायित्व हो , त्यसमा हामी युवाहरूले पनि आफ्ना तर्फबाट योगदान दिन पर्छ’, स्थानीय युवाहरूले भने, ‘पालिकाले थालेको अभियान सकारात्मक छ , हामी युवाहरूले आ आफ्ना वडाका योजनाहरूमा श्रमदान गर्न कस्सिनु पर्छ ।’

चिल्की मोडमा ३० मिटर लामो सडक बिग्रेको स्थानीय युवाहरूले जानकारी दिए । तत्कालका लागि सोलिङ्ग भरान गरेर अस्थायी समस्या समाधान गर्न नियमित रूपमा शनिवारबाट श्रमदान गरिने युवाहरूको भनाइ छ । शनिवार मात्रै उनीहरूले ८ मिटर लामो सोलिङ्ग गरिसकिएको दाबी गरेका छन् । सो सडक निर्माण पछि अन्य योजनाहरूमा पनि श्रमदानमा खटिने प्रतिबद्धता युवाहरूले गरेका छन् ।
‘सो ठाउँमा वर्षाको भलले सडक बगाउँदा सवारीसाधनलाई गुड्न अप्ठेरो भइरहेको थियो’ , श्रमदानमा जुटेका युवा रोहित बोगटीले भने, ‘पालिकामा श्रमदान अभियान चलिरहेकाले अरू वडाहरूमा पनि प्रेरणा मिलोस् भनेर २ नं. वडाका युवाहरू वडाका योजनामा श्रमदान गर्न खटिएका हौँ ।’
सबै वडामा श्रमदान गर्न युवाहरू खटिएमा विकासका मूलहरू फुट्ने आशा युवाहरूको छ ।
ठाउँ ठाउँमा बाटो खराब भएको कारण देखाउँदै यातायात व्यवसायीले चर्को भाडा असुलिरहेको आरोप लगाउँदै युवाहरूले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार मूल्य कायम हुनुपर्ने माग गरेका छन् ।
केआइसिह गाउँपालिकाले वडा नं. ५ र दिपायल सिलगढी नगरपालिकाको वडा नं. ४ को सिमानामा पर्ने तुस्यात खोलामा बिग्रेको सडकलाई श्रमदानबाट निर्माण गरिरहेको छ । चौथो दिन भइरहेको श्रमदानमा दिन प्रतिदिन सहभागीहरूको संख्या बढ्दै गएको छ । पालिका स्तरबाट सुरु भएको श्रमदान अभियान वडा स्तरमा विस्तार गरेर युवाहरू जागरूक हुनु खुसीको कुरा रहेको बताउँदै गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आफू पनि चिल्की मोडमा युवाहरूले सुरु गरेको श्रमदान अभियानमा सहभागी हुने प्रतिबद्धता गरेका छन् ।







प्रतिक्रिया