(डोटी)– श्रमदानको बिषयलाइ लिएर भइरहेको टिकाटिप्पणीबीच केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आफ्नो अभियानलाई तिब्र पारेका छन् । तेस्रो दिनपनि केआइसिंह गाउँपालिका वडा नं. ४ वायल स्थित सेरी खोलामा अध्यक्ष शाहीको नेतृत्वमा श्रमदानबाट पुल ( मानिस हिड्न मिल्ने ) निर्माण कार्य जारी छ । वर्षातमा खोला बढेर स्थानीय र विद्यार्थीहरूलाई समस्या भएको भन्दै उनले एकहप्ताभित्रै पुल निर्माण सम्पन्न गर्ने दावी गरेका छन् ।
यद्यपि वर्षभरी मौन रहेका जनप्रतिनिधि धरानका मेयर हर्क साम्पाङ्गको नक्कल गरेर स्टण्ड गर्न खोजेको आरोप विपक्षीहरूले लगाउँदै आएका छन् । श्रमदानका क्रममा अध्यक्ष शाहीले बोकेको ढुङ्गाको तस्बिर सार्वजनिक सञ्जालमा पोष्ट गर्दै विपक्षीहरूले नाटकको संज्ञा दिएर कटाक्ष गरिरहेका छन् भने कतिपय विपक्षी राजनैतिक दलका नेता कार्यकर्ता एवम् उनका समर्थकहरुले साथसहयोग र हौसला दिनुपर्ने भन्दै श्रमदानमा खटिएका छन् ।
केआइसिंह गापाको वडा नं ४ स्थित सेरीगाडमा पुल निर्माणका लागि श्रमदान गर्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही र वडा नं. १ का वडाध्यक्ष कृष्ण बहादुर बम।
श्रमदानमा खटिएकाहरुको अभिलेख भने राख्ने गरिएको छ । तीन फिट चौडा र २८ फिट लम्बाइको पुल सेरी खोलामा श्रमदानबाट निर्माण भइरहेको छ । खोलाको सतहभन्दा १० फिट अग्लो जग बनाएर फलाम र सरियामाथि ढलान गरिने वडाअध्यक्ष जयबहादुर धामीले जानकारी दिए । वडाध्यक्ष धामीले वायलका विद्यालयहरूमा असार २६ गते हुने परीक्षामा विद्यार्थीलाई सो पुलमाथि हिँडाएर विद्यालय पुराउने योजना अनुसार काम अघि बढिरहेको बताए ।
मंगलबार दिउँसो र बुधबार बिहानबाटै पानी परिरहेकाले काममा केही बाधा पुगेपनि पुलको जगको आधा काम सकिएको स्थानीय तारा भट्टले बताए । जनप्रतिनिधिहरूले सुरुवात गरेको श्रमदानमा खटिएका भट्टले श्रमदानमा सहयोग गर्न पाउँदा खुसी लागेको सुनाए । ‘पसलमा बस्दै अरुको कटाक्ष गर्नुभन्दा श्रमदान गरेर समाजलाई योगदान दिँदा बुद्धिमानी होला’, युवा नेता प्रकाश परियारले भने, ‘ यसलाइ टिकाटिप्पणीको विषय बनाउनु भन्दा पनि युवाहरूले साथसहयोग गरेर प्रोत्साहन दिनुपर्छ, गलत भएको ठाउँमा पो खबरदारी गर्ने हो ।’

दुई वर्षअघि खोलामा आएको बाढीले अस्थाई पुल बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको थियो । वायलसम्म कालोपत्रे गर्ने क्रममा निर्माण व्यवसायीले सेरी खोलामा सोलीङ्ग गरेर प्लष्टर गरिदिँदा खोलामा पानी तीब्र गतिमा बहन थालेपछि पैदलयात्रुलाई खोला तर्न जोखिम बढेको छ । स्थानीय व्यापारी नरेश बहादुर खड्काले तत्कालै पुल बन्ने अवस्था नदेखेपछि पालिकालाई पुल निर्माणका लागि गुहार्यौं’, खड्काले भने, ‘पालिकामा बजेट घटेकाले तत्कालै रकमको जोहो नहुने भएपछि हामीले नै श्रमदानबाट काम अघि बढाउन राय दिएका हौं । जनप्रतिनिधिहरू नै त्यसको अगुवाइ गर्न आएपछि अहिले धमाधम पुलको काम भइरहेको छ ।’ सो खोलामा पक्की पुल निर्माणका लागि प्रदेश सरकारले माटो परिक्षण सहित डिपिआर तयार पारेपनि बजेट बिनियोजन नगर्दा काम अघि बढेको छैन । ‘अस्थाई पुल दुईवर्ष अघि बगाएपछि यसवर्ष कालोपत्रे गर्ने क्रममा सोलिङ गर्दा अलि सहज होला थान्यौ तर त्यसले झन् जोखिम बढायो’, अध्यक्ष शाहीले भने, ‘न्यून बजेटका बावजुत पनि पहिलेकै अस्थाइ पुल नजिक काम अघि बढाउन खोज्दा जमिनदाताहरु बिचको विवादले केही समय लियो, अन्तः समस्या मुखैनिर आएपछि स्थानीयको श्रमदानबाट पुल बनाउने प्रस्ताव अघि बढाएका हौं ।’ अध्यक्ष शाहीले स्थानीयको प्रोत्साहनले श्रमदानलाई अभियानकै रुपमा लैजाने अठोट लिएको समेत घोषणा गरे ।

सेरी खोलापछि तुस्यात खोलामा श्रमदान
अध्यक्ष शाहीले श्रमदानलाइ अभियानकै रुपमा लगिने घोषणा गरेका छन् । उनले वायल खोलामा पुल निर्माण पछि दिपायल सिलगढी नगरपालिका र केआइसिंह गाउँपालिकाको वडा नं ५ को सिमानामा पर्ने तुषार खोलामा काम गर्ने कार्ययोजना सुनाए । ‘टिकाटिप्पणी विरुद्ध मेरो कुनै प्रतिकृया छैन तर म श्रमदानलाइ अभियानका रुपमा लग्ने घोषणा गर्दछु’, शाहीले भने, ‘दिपायल देखि वायलसम्म कालोपत्रे भइसकेपनि तुस्यात खोलामा माटो बग्दा सवारीसाधनलाई गुड्न समस्या छ’, अध्यक्ष शाहीले भने, ‘अब सेरी खोलाको काम सकिएपछि साउन महिनामा तुस्यात खोलामा श्रमदान गर्छौ ।’ तुस्यात खोलामा साना चारपाङ्ग्रे गाडीलाई बढी समस्या छ । ठाडो ओरालाे र खाल्डाखुल्डीले खाेलामा सवारीसाधन गुडाउन असहज बन्दै आएकाे छ ।
श्रमदानमा सम्पन्न गरिने योजनाहरू सूचीकृत गरेर वर्षभरीको कार्ययोजना सार्वजनिक गरिने अध्यक्ष शाहीले बताएका छन् । शाहीका अनुसार ती योजनाहरूमा गाउँपालिकाको बजेट प्रयोग नहुने छैन । जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी , व्यापारी लगायत शुभचिन्तकहरुसंग आर्थिक तथा निर्माण सामाग्री मागेर श्रमदानका योजना सम्पन्न गरिने बताइएको छ ।
प्रतिक्रिया