शिखर सरकारबाट राजमार्गमा सिसिटिभी जडान 

साउनभित्रै फाइबर बिछ्याइँदै

पाँजलो न्युज
१७ असार २०८० ३:४२
शिखर सरकारबाट राजमार्गमा सिसिटिभी जडान 

(डोटी)– सडक दुर्घटना र अपराधीक क्रियाकलाप नियन्त्रणका लागि शिखर नगरपालिकाले डा. केआइसिंह राजमार्ग क्षेत्रमा सिसिटिभी जडान गरेको छ । नगरभित्र पर्ने तलकोट प्रहरी चौकी र बानेडुंग्रीसैन प्रहरी चौकीको निगरानीमा रहने गरी सिसिटिभी क्यामरा जडान गर्न नगरपालिकाले सहयोग गरेको नगरप्रमुख दीर्घबहादुर बलायरले बताए । उनले सडक दुर्घटना र अपराधीक क्रियाकलाप न्यूनीकरणमा सहज हुने आशा व्यक्त गरे ।

चार स्थानमा क्यामरा जडान गरिएका छन् । नगरपालिकाले एक लाखको लगानीमा प्रहरी चौकीहरूलाई पोल, मोनिटर, सिसिटिभी क्यामरा, एनबीआर लगायतका उपकरणमा सहयोग गरिएको तलकोट प्रहरी चौकीका प्रमुख बिपिन भण्डारीले बताए । नगरपालिकालाई धन्यबाद दिदै उनले राजमार्गमा हुने हरेक गतिविधि नियाल्न सहयोग पुग्ने अपेक्षा राखे । शिखर नगरपालिकाका सूचना तथा संचार प्राबिधीक अधिकृत नवराज भट्टले आगामी आर्थिक वर्षमा नगरभित्रका मुख्य बजार र क्षेत्रहरूमा पनि सिसिटिभी जडान कार्य बिस्तार गरिने जानकारी दिए ।

साउनभित्रै फाइबर बिछ्याइँदै

शिखर नगरपालिकाले आँउदो साउन महिनाभित्रै नेपाल टेलिकमको एनटी फाइबर बिस्तार गर्ने भएको छ । फाइबर बिस्तार नहुँदा नगरभित्र इन्टरनेट सञ्चालनमा विभिन्न समस्या आइरहेको बताउँदै नगरप्रमुख बलायरले बानेडुंग्रीसैन देखि तलकोट सम्म पोलहरू गाडी सकिएको बताए । यसरी आफ्नै लगानीमा सिसिटिभी क्यामरा जडान तथा फाइबरका लागि पोल गाड्ने डोटीमा शिखर नगरपालिका एकमात्र पालिका हो । ‘पटक पटक टेलिकमलाई फाइबर जडानका लागि आग्रह गर्दा बजेट अभाव देखाउदै काम नहुने भएपछि नगरपालिकाले बजेटको व्यवस्था गरिदिएको हो’, नगरप्रमुख बलायरले भने,‘ नगरपालिकाले बानेडुंग्रीसैन देखि तलकोट सम्म ३० वटा पोलहरू आफ्नै स्रोतबाट गाड्ने प्रतिवद्धता गरेपछि साउनभित्र फाइबर बिच्छ्याउन टेलिकम राजी भएको छ ।’

तराइदेखि हाइटेन्सन लाइनमार्फत सोझै दिपायल सिलगढीमा फाइबर ल्याएपछि शिखर नगरपालिकामा इन्टरनेट तथा तारसहितको फोन सेवामा समस्या रहँदै आएको थियो । ‘फाइबर बिछ्याइयो भने सबैलाई राहत पुग्नेछ’, सूचना तथा सञ्चार प्राविधक अधिकृत भट्टले भने, ‘  इन्टरनेट फास्ट नहुँदा निजी कम्पनीका महँगा र खर्चिला इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यता थियो तीनले पनि गतिलो सेवा दिन सकेका छैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *