डोटी ।बागेश्वरी असल शासन क्लब (बास) डोटी शाखाले सार्वजनिक सेवा प्रबाहमा सुशासन ल्याउन डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ११ बुदे ज्ञापन पत्र बुझाएका छन् । असल शासन स्थापनाका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बासले मंगलबार डोटीका प्रजिअ श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा सुचनाको हक सम्वन्धी ऐन, २०६४ मा भएको ब्यवस्था अनुसार सार्वजनिक निकायले अनिवार्य सूचना अधिकारी तोक्ने र आवश्यक सुचना प्रबाह गर्ने, सुचनाको हक बमोजिम प्रक्रिया पुर्याएर सुचना माग गर्ने नागरिकलाई सहज रुपमा सूचना उपलब्ध गराउनु पर्ने, सार्वजनिक निकायले ३÷३ महिनामा आफ्नो निकायसँग सम्बन्धित विवरण स्वस्फूर्त रुपमा सार्वजनिक गर्नुपर्ने, नियमित रुपमा नागरिकहरुको गुनासो सुनुवाई गर्नुपर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार सार्वजनिक निकायले चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने, बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई छिटो, छरितो तवरले उपलब्ध गराउनुपर्ने, सरकारी सवारी साधनहरुको दुरुपयोगमा नियन्त्रण गर्नुपर्ने, असल कार्य गर्ने कर्मचारीलाई पुरस्कृत र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गर्नुपर्ने, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गर्नुपर्ने, स्थानीय तह तथा सबै कार्यालयहरुमा नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गर्नुपर्ने लगाएतका बुदाहरु उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ज्ञापन पत्र बुझ्दै ज्ञापन पत्रमा उल्लेख गरिएका सवालहरु नागरिकले प्राप्त गर्ने सेवा संग सम्बन्धीत भएकोले यसको पूर्ण कार्यान्वयन गर्ने बताए । प्रजिअ श्रेष्ठले ज्ञापन पत्रमा भएका कुराहरु केही कार्यान्वयन भईरहेका छन् बाकी सवालहरुको बारेमा प्रत्येक महिनाको पाच गते कार्यालय प्रमुख र सुचना अधिकारीको बैठमा पनी बृहत रुपमा छलफल गरी परिपत्र गर्ने समेत प्रतिबद्धता जनाएको बास डोटी शाखाका अध्यक्ष शरिता कठायतले बताईन् ।
बास डोटी शाखाले आयोजना गरेको भ्रष्टाचार विरुद्धको शुद्धिकरण कार्यक्रम अन्तरगत प्लेकार्ड मा भ्रष्टाचार बिरूद्वका नाराले सांकेतिक धर्ना गरि प्रजिअलाई ज्ञापन पत्र बुझाएका हुन् । कार्यक्रममा बास डोटी शाखाका पदाधीकारी, पत्रकार, नागरिक समाजको समेत उपस्थिती रहेको थियो ।
प्रतिक्रिया