डोटी– शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गैरसरकारी संस्थाहरुले गरेका कार्यहरुको जिल्ला सल्लाहाकार समितिले स्थलगत निरिक्षण बुधबार गरेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ८ लडागडा स्थित बिद्यालय र स्वास्थ्य इकाइमा समितिले अनुगमन गरेको हो । सल्लाहाकार समितिका संयोजक लक्ष्मण सिंहले अनुगमनका क्रममा सामुदायिक बिकास केन्द्र (सिडिसी) र सामुदायिक बिकास मञ्च (सिडिएफ) द्धारा संचालीत एकिकृत सामुदायिक बिकास परियोजना मार्फत शिक्षा, स्वास्थ्य तथा आयआर्जन क्षेत्रमा पुगेको सहयोग प्रति खुसी ब्यक्त गरे । ‘बिद्यालयहरुमा भौत्तिक संरचना निर्माण देखि बालमैत्री कक्षा बनाउन तथा प्रबिधीमार्फत शिक्षण गर्नका लागि परियोजनाले गरेको सहयोग अनुकरणीय लाग्यो’, संयोजक लक्ष्मण सिंहले भने, ‘कतिपय बिद्यालयहरुलाई त सुन्यबाटै उठाएको पनि उदाहरण देखियो , शिक्षा क्षेत्रमा गरिएको लोभलाग्दो सहयोग सरकारले पनि अनुशरण गर्न जरुरी छ ।’
सल्लाहाकार समितिले चौखान माबि, सुनादेवी माबि र चौड्यालेश्वर आबि तथा दाङ्ग शहरी स्वास्थ्य इकाइ र लक्ष्मीबहुउदेश्य सहकारीको अनुगमन गरेको थियो । जिल्ला सल्लाहाकार समितिका संयोजक लक्ष्मण बहादुर सिंह, उप संयोजक स्मृति चुनारा, जिल्ला समन्वय अधिकारी खेम बहादुर गुरुङ्ग, दिपायल सिलगढी नगरपालिका उप प्रमुख कलावती साउँद, पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का, पत्रकार महासंघका अध्यक्ष मोहन शाही, सामुदायिक बिकास केन्द्रका अध्यक्ष हेमराज जोशी, सामुदायिक बिकास मञ्चका अध्यक्ष खडकराज शर्मा, दिपायल सिलगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीराज ओझा, शिखर नगरपालिकाका शिक्षा शाखाकी प्राबिधीक सहायक रोजी सिंह लगायतको अनुगमनमा सहभागिता रहेको थियो । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा सिडिसी डोटीले शिक्षा तथा स्वास्थ्य र सिडिएफले जिविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ ।
सल्लाहाकार समितिलाई अनुगमनका क्रममा चौखान माबिका प्रधानाध्यपाक नवराज साउँदले सिडिसि मार्फत प्रबिधीमार्फत शिक्षण गर्न ३ प्रोजेक्टर, ४ ल्यापटप, बालमैत्री कक्षाकोठाका लागि फर्निचर, कार्पेट उपलब्ध गराउनु साथै भवन निर्माणमा सहयोग गरेको बताए । उनले बिद्यार्थीहरुको सिकाइ उपलब्धीमा सुधार ल्याउन सिडिसीले अतुलनीय सहयोग गरेको जानकारी गराए । त्यस्तै सुनादेवी माबिमा पनि सिडिसीले बिभिन्न शैक्षिक सामाग्रीहरु, भवन निर्माण तथा सुधार र शिक्षकहरुको क्षमता बिकासमा सहयोग गरेको प्रधानाध्यापक कृष्ण बहादुर कठायतले बताए । चौड्यालेश्वर आबिका शिक्षकहरुले भने सरकारका तर्फबाट बनेको २ कोठे शौचालय बाहेक बिद्यालयका सबै संरचना, शैक्षिक सामाग्रीहरु, पर्खाल निर्माण लगायतका काममा सहयोग गरेको अनुगमन टोलीलाई बताए ।
शहरी स्वास्थ्य इकाइको स्तरोन्नतीका लागि बिभिन्न स्वास्थ्य सामाग्री तथा भवन निर्माणमा सहयोग गरेको छ । वडा नं. ८ का तल्लो क्षेत्रका स्थानीयलाई स्वास्थ्य इकाई बिस्तार गरेपछि ठुलो राहत पुगेको छ ।
प्रतिक्रिया