डोटी,डोटी जिल्लामा ६५ हजार ७३५ महिला र ५९ हजार १३५ पुरुष गरि एक लाख २४ हजार आठ सय ७० मतदाता रहेका छन् ।
डोटीमा निर्वाचनका लागि ११५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित १७८ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी करुणाकर जोशीले बताउनु भयो ।
निर्वाचन सुरक्षाका लागि जिल्लामा ५३८ जना नेपाली सेना , ५६५ जना नेपाल प्रहरी, २०५ जना सशस्त्र प्रहरी , ९५३ जना म्यादी प्रहरी र १२ जना अनुसन्धानका गरी दुई हजार २७३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको टोलीले निर्वाचन क्षेत्र र मतदान केन्द्रको सुरक्षा र अन्य तयारीको अनुगमन गरिरहेको जनाएको छ ।
डोटीमा निर्वाचनका लागि १ हजार चार सय १४ जना कर्मचारी परिचालन गरिएको निर्वाचन अधिकारी जोशीले जानकारी दिनु भयो । जसमा १ सय ७८ जना मतदान अधिकृत, १ सय ७८ जना सहायक मतदान अधिकृत रहेका छन् भने अन्य शिक्षक सहित १ हजार ५ जना खटिएका छन् । ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडाको रूपमा राखिएको छ ।
जिल्लाबाट प्रतिनिधि सभाका लागि सत्ता गठवन्धनबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेकपा एमालेका गौरी ओली, राप्रपाका अंकबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका केशवबहादुर बलायर चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुसँगै दुई स्वतन्त्र उम्मेदवारहरु नरेन्द्रबहादुर खड्का र राजप्रसाद जोशी पनि प्रतिस्पर्धामा छन् ।
प्रदेश सभा ‘१’ मा सत्ता गठवन्धनबाट नेपाली कांग्रेसका नरेन्द्रबहादुर सिंह, नेकपा एमालेका चक्रबहादुर मल्ल, हाम्रो नेपाली पार्टीका शैलेन्द्र खड्का र राप्रपाका नेत्र नाथ चुनावी मैदानमा छन् । यस्तै, प्रदेश ‘२’ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शिवसिंह ओली, नेकपा एमालेका टेबबहादुर बम र राप्रपाका मोहनबहादुर बम चुनावी मैदानमा छन् ।
प्रतिक्रिया