डोटी । बोगटान फूडसिल गाउँपालिका वडा न १ सिमगाँउकी जानकी पुनमगर महिला स्वयमसेविका हुन । स्वयमसेविकाहरुको जिम्मेवारी टोलाबासीको स्वास्थ्यवारे हेरचाह र उपचारमा सहजीकरण गर्ने भएपनि जानकीको भूमीका त्यतीमै मात्र सिमित छैन । उनी मानिसको स्वास्थ्य संगै जलवायू परिवर्तनका असरहरु न्यूनीकरण गर्ने भूमीका पनि सिमगाउँमा निभाइरहेकी छन ।
उनी सिम कृषक महिला समुहकी सचिव हुन । उनको समुह गाउँनजिक बाँझो रहेको टाकुरा डाँडालाइ हरियाली बनाउने अभियानमा जुटेको छ । बसाइ सराइले गाउँहरु रित्तिएर उर्वर जमिन पनि बाँझो हुन थालेपछि सिमगाउँका बासिन्दाहरु समुह नै गठन गरेर टाकुरा डाँडालाइ हरियाली बनाउन कस्सिएका हुन ।
‘पहिले गाउँमा जतात्यतै पानीका मुहान थिए, मौषम अनुसार खेतीपाती गर्न निकै सहज थियो, ‘ सिम कृषक महिला समुहकी सचिव जानकीले भनिन,’तर आजभोली परिस्थिति बदलिएको छ, पानीकै स्रोत घट्न थालेपछि बसाइसराइ तिव्र भयो । जमिन बाँझो भयो । यसले हामीलाइ चिन्तित बनाएर जलवायू संरक्षणका लागि अभियान चलाइरहेका छौं ।‘
जलवायू परिवर्तन र पर्यावरण संरक्षणबारे एक गैरसरकारी संस्थाले चार बर्ष अघि जनचेतनामूलक कार्यक्रमहरुमा सहभागि गराएपछि सिमगाउँबासीलाइ पर्यावरण संरक्षणतर्फ रुची बढेको हो । जानकी पदीय हिसावले सचिव भएपनि गाउँकी सक्रिय र शिक्षित महिला हुन । स्थानीय महिलाहरुलाइ समुहमा आवद्ध गराएर उनीहरुलाइ क्रियाशिल बनाउने देखि विभिन्न संघसंस्था,वडा कार्यालय,गाउँपालिका एवम सरकारी कार्यालयहरुसंग समन्वय गर्ने भूमीका जानकीले गर्ने गरेकि छन ।

समुहमा आवद्ध सदस्यहरु दिनभरी टाकुरा डाँडामा जम्मा हुन्छन । कोही खनजोत गरिरहेका, झारपात उखेलिरहेका त कोही जमिन सम्याउने काम गरिरहेका भेटिन्छन । समुहभित्र उनीहरुले कसले के गर्ने भनेर जिम्मेवारी समेत बाँडेका छन । जिम्मेवारीलाइ हालसम्म इमानदारीपूर्वक निभाउदै आएका छन ।
त्यसैको प्रतिफल स्वरुप एक बर्ष अघिबाट सुरु भएको उनीहरुको अभियानले आशाको किरण टाँकुरा डाँडामा छर्न थालिसकेको छ । डाँडामा बेमौषमी तरकारी बन्दा काउली, हरियो साग, प्याज फलाइसकेका छन भने विभिन्न जातका फलफूलका बोट हुर्काइरहेका छन । समुहकी अध्यक्ष टेकसरा घर्तीमगरले मसलाजन्य बनस्पती समेत लगाएर बाँझो जमिनलाइ पर्यावरणका दृष्टीले हरियाली तथा आम्दानीको स्रोतका रुपमा समेत स्थापना गर्ने बताइन ।
‘आजभोली सिमगाउँमा के भइरहेको छ भनेर गाउँबाहिरका मानिसहरु सोध्न थालिसके‘अध्यक्ष टेकसराले भनिन’, ‘केही बर्ष भित्र गाउँमा पर्यटक आउने गरि वातावरण संरक्षण गरिरहेका छौ भनेर जवाफ फर्काइरहेका छौ ।’
समुहले ५ रोपनीमा फैलिएको टाँकुरा डाँडामा खाल्डो खनेर प्लाष्टिकको सिँचाइ पोखरी बनाएका छन भने करिव एक किलोमिटरको दुरीमा रहेको पहाड रिचार्ज पोखरी समेत खनेका छन ।

‘पानी स्रोत सुकेर पहाड फेदमा रहेको सिमगाउँमा सुख्खा हुनथालेपछि रिचार्ज पोखरी बनायौ , बाँझो जमिनमा सामुहिक खेती गरेपछि पानीको स्रोत विगतभन्दा बढेको छ, ‘ स्थानीय सरिता पुनमगरले खुसी हुँदै भनिन, ‘सिमगाउँमा रहेका करिब ४० परिवार अहिले यसको प्रत्यक्ष लाभ पाइरहेका छौं ।‘
यतिमात्र होइन उनीहरुले खेतबारीमा प्राङ्गरिक मल प्रयोग गर्ने, मलमूत्रलाइ संकलन गरेर किटनासक औषधी तयार गर्ने गरिरहेका छन् ।
जलवायू परिवर्तनका प्रभावहरु न्यूनीकरण गर्न सिम महिला कृषक समुहले अनुकुलनका उपायहरुको नमुना अभ्यास गरिरहेको भन्दै बोगटान फूडसिल गाउँपालिका वडा नं १ का वडाध्यक्ष खेमबहादुर घर्तीमगर खुसि व्यक्त गर्छन । माटोको क्षयीकरण रोक्न सुख्खा वाझो जमीनहरुमा उत्पादकत्व सुधार गरी दिगो कृषि गर्न र वातावरण संरक्षणमा सहयोग गर्न ढलान कृषि भुमी प्रविधीको प्रयोग सिमगाउँ बासी गरिरहेको वडाध्यक्ष खेम बहादुर घर्तीमगरले बताए । ग्रामिण समुदाय विकास केन्द्रसंगको सहकार्यमा वडा कार्यालयले सिमगाउँबासीलाइ पर्यावरण संरक्षण एवम जलवायू परिवर्तनका असरहरुबारे बच्न विभिन्न गतिविधीहरुमा सहयोग गरिरहेको वडाध्यक्ष घर्तीमगरले बताए ।
बाँझो रहेको डाडाँमा विभिन्न तरकारीबाली, फलफूल लगायतका बोटबिरुवा लगायर कसरी जलवायू परिवर्तनको प्रभाव न्यूनीकरण गर्न सकिन्छ भन्ने अभ्यास गरिरहेको स्थानीय बताउँछन ।
सुख्खा जमिनमा उम्रेका झारपात उखेल्न, खनजोत गर्न,सिँचाइको प्रबन्ध गर्न तथा जमिनलाइ मलिलो बनाउन अलि मेहनत गर्नुपरेकाले यसबर्ष बिक्री नै गर्नेगरी तरकारी फलाउन नसकेपनि समुहका सदस्यहरुलाइ खानलाइ भने भएको समुहका सदस्यहरु बताउँछन । पशु चौपाया र जंगली जनावरबाट तरकारीबाली जोगाउन ग्रामिण समुदाय विकास केन्द्र नामक संस्थाको सहयोगमा स्थानीयले डाँडालाइ चारैतिरबाट काँडे तारले घेरबार समेत गरिसकेको समुहकी सदस्य पार्वती पुनमगरले बताइन । ‘जिल्लामै नमुना बनाउने परिकल्पना गरेका छौं ‘,पार्वतीले भनिन, ‘गाउँमा यस्ता खेर गइरहेका जमिन सयौं छन हामी सफल भयौं भने अरुलाइ पनि पाठ हुन सक्छ ।’
६७ बर्षिय बहादुर पुनमगर विगतको हावापानी र अहिले बदलिदो मौषम देखेर आश्चर्यमा छन । खेतहरुमा पानीका मूलहरु फूटेको आफ्नै आँखाले देखेका उनी दुइ दशक यता बढेको खडेरीले समयमै खेती गर्न नसकेकोमा नियास्रो मान्छन । खाना र पानीको स्वाद समेत फेरिएकोमा चिन्ता छ । परम्परागत पोखरी, सिँचाइ कुलो, पानी पीउने धाराहरु सुकिसकेका छन । विकासका नाममा जताभावी डाँडाकाँडा फोड्ने, सडकहरु काट्ने, भौतिक संरचना तयार पार्ने प्रबृतीले जलवायू परिवर्तन भएको उनको तर्क छ । ‘यसका लागि मानिसहरु नै संरक्षणका लागि संवेदनशिल हुनपर्छ, ‘बहादुर पुनमगरले भने , ‘परिणाम तुरुन्तै नआउने भएपनि गाउँका महिलाहरुले थालेको अभियान उदाहरणिय छ । यसको अनुशरण अरु गाउँहरुमा पनि गर्न पर्छ ।’
डोटी जिल्लाको कुल २ हजार २५ बर्गकिलोमिटर क्षेत्रफल मध्ये करिब ७१ प्रतिशत जति वन क्षेत्र छ। यद्यपी बनक्षेत्र शहरीकरण, भौत्तिक संरचना निर्माण तथा विभिन्न नाममा भइरहेको अतिक्रमणको चपेटामा पर्दै गएको छ ।

३३ हजार चार सय ६३ हेक्टर खेतीयोग्य भूमि भएपनि अझै १५ हजार ९ सय ४ हेक्टर भूमी विभिन्न कारणले उपयोगमा नआएको तथ्यांङ्क डोटी जिल्ला प्रोफाइल २०१५ मा उल्लेख छ । सिँचाइ डिभिजन कार्यालय राजपुर डोटीका सूचना अधिकारी दीपेन्द्र शाहका अनुसार पर्यावरण संरक्षणका लागि सरोकारवाला सबै सक्रिय हुनुपर्ने बताउँछन । सरकारले मात्र असम्भव रहेको वताउँदै उनले पानीका मुहानहरुको स्रोत संरक्षणका लागि नागरिकहरु नै बढी संवेदनशिल हुनपर्ने सुझाव दिन्छन । वृक्षारोपण तरकारी खेती बाँझो जमिनको भू उपयोग सबैभन्दा उत्तम विकल्प रहेको शाहले सुझाव दिए ।

प्रतिक्रिया