डडेल्धुरामा जिल्ला निर्वाचन कार्यालयको सवारी दुर्घटनाग्रस्त

पाँजलो न्युज
१९ माघ २०८२ १:४५

डडेल्धुरा — डडेल्धुरा जिल्लामा जिल्ला निर्वाचन कार्यालय डोटीको स्वामित्वमा रहेको सरकारी स्कारपियो दुर्घटनामा पर्दा पाँच जना व्यक्ति घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार डडेल्धुराबाट दिपायलतर्फ गइरहेको उक्त स्कारपियो केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ स्थित रडुवा खोला नजिक अनियन्त्रित भई सडक छेउमा ठोक्किन जाँदा दुर्घटना भएको हो।
दुर्घटनामा अजयमेरु गाउँपालिका–६ निवासी तथा जिल्ला निर्वाचन कार्यालय डोटीमा कार्यरत निर्वाचन अधिकृत ४२ वर्षीय करुणाकर पन्त घाइते भएका छन्। साथै बर्दिया जिल्लाका स्थायी बासिन्दा भई सशस्त्र प्रहरी बल नेपाल, ३६ नम्बर गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा तथा नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सुर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी पनि घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई आवश्यक प्राथमिक उपचार प्रदान गरिएको छ। दुर्घटनाको कारणसम्बन्धमा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *