दिनेश जोशी, दिपायल- डोटी जिल्लाका लुकेका गायन प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले इतिहासमै पहिलो पटक ‘डोटी आइडल २०८२’ आयोजना हुने भएको छ। डोटी उद्योग वाणिज्य संघको आयोजनामा दिपायलमा फागुन १ गतेदेखि सञ्चालन हुने डोटी महोत्सव २०८२ को अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
संस्कृतिभित्र सद्भाव र आवाजभित्र पहिचानको खोजी गर्ने मूल नारासहित सञ्चालन हुने प्रतियोगिताले डोटेली स्वर, सुर र मौलिक संगीतको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। हालसम्म गीत रेकर्ड गर्ने अवसर नपाएका १२ देखि ४० वर्ष उमेर समूहका डोटी जिल्लाका नव–प्रतिभा गायक–गायिकालाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
अडिसनको पहिलो चरणबाट प्रत्येक पालिकाबाट तीन–तीन जना प्रतियोगी छनोट गरिनेछ। छनोटमा परेका प्रतियोगीहरूलाई महोत्सव स्थल दिपायलमा नेपालका ख्यातिप्राप्त गायक तथा संगीतकर्मी सम्मिलित निर्णायक मण्डलबाट अन्तिम चरणमा प्रवेश गराइनेछ।
प्रतियोगितामा उत्कृष्ट तीन स्थान हासिल गर्ने गायक–गायिकालाई गीत रेकर्ड गर्ने अवसरका साथै प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।
इच्छुक प्रतियोगीले २०८२ साल माघ १५ गतेभित्र डोटी उद्योग वाणिज्य संघको सचिवालयमा नाम दर्ता गराउनुपर्नेछ। नाम दर्ता भएका प्रतियोगीले दुईवटा फरक–फरक विधाका गीत भिडियोसहित अडियो रेकर्ड गरी बुझाउनुपर्ने आयोजकले जानकारी दिएको छ।
सम्पर्क व्यक्ति- मोहन शाही (फोन नं. ९८४८६२८६५५
अध्यक्ष- विक्रम साउँद (फोन नं. ९८४८४३१२४६







प्रतिक्रिया