डोटी । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न पछिल्लो समय मरिहत्य नै गरेको पाइन्छ । कतै त चुनाव नै हुन्छ भने कतै कतै १२/ १४ जनाको प्रतिस्पर्धा देखिँदै आएको छ ।
तर डोटी जिल्लाको एउटा विद्यालयमा भने ३० वर्षसम्म एउटै व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर बिदा हुनुभएको छ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर- ५ भवरामा रहेको केदारेश्वर आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा भने देवबहादुर घर्ती मगर ३० वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर बिदा हुनुभएको छ।
म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदै गर्दा विद्यालयमा केही थिएन श्रमदानबाटै विद्यालयको भवन निर्माणदेखि खेलमैदान सम्म तयार गरेको दरबन्दीदेखि स्कुल स्वीकृतसम्मको काम आफ्नो पालामा भएको निवर्तमान अध्यक्ष देवबहादुर घर्ती मगरले बताउनुभयो ।
गाउँ समाजका मान्छेले नै विश्वास र मेरो इमानदारीताले पनि समाजको मन जितेको कारण लामो समयसम्म सेवा गरे अब चाहिँ दौडधुप धेरै गर्न नसकिने अवस्थामा पुगेकाले नेतृत्व हस्तान्तरण गरेको उहाँले बताउनुभयो।
२०५२ सालमा स्थापना भएको विद्यालयमा उहाँको ठूलो योगदान रहेको छ । उहाँसँगै स्वर्गीय भीमबहादुर थापाले जग्गा उपलब्ध गराउनुको साथै स्कुल स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नुभएको र उहाँहरूको भूमिका सदैव विद्यालयले स्मरण गर्ने विद्यालयका प्रधानाध्यापक नरेन्द्र बोहराले बताउनुभयो।
विद्यालयको निरन्तर विकास, शिक्षक–विद्यार्थीबीचको समन्वय र समुदायको विश्वास कायम राख्न अध्यक्षको भूमिका प्रभावकारी रहँदै आएको छ।
सीमित स्रोतसाधनका बाबजुद विद्यालयलाई सफल बनाएको स्थानीयको भनाइ रहेको छ ।
विद्यालय स्थापनाकाल देखि नै तत्कालीन समाजसेवी स्वर्गीय दिलबहादुर रोकामगर, टेकबहादुर थापामगर लगायत सम्पूर्ण अभिभावकहरूको उल्लेखनीय योगदान रहँदै आएको छ।
उनीहरूको निःशुल्क श्रम, आर्थिक सहयोग र सामूहिक पहलबाट विद्यालयको भवन निर्माणदेखि खेलमैदान निर्माणसम्मका काम सम्पन्न भएका थिए।
तर, हाल पनि विद्यालयमा कम्तीमा एउटा थप विद्यालय भवन र विद्यालयसम्म पुग्ने सडक अत्यावश्यक रहेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष प्रकाश थापाले बताउनु भयो ।







प्रतिक्रिया