डाेटी- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोटीले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ ।
शुक्रबार साबिकको माओवादी केन्द्रका डोटी जिल्ला इन्चार्ज त्रिलोचन भट्टको अध्यक्षतामा सम्पन्न पार्टीको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक र माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फका त्रिलोचन भट्ट, हर्क बहादुर सिंह, जङ्ग बिक, अङ्जिता श्रेष्ठ, सिद्धाराज विक, वीर बहादुर थापा, धन बहादुर विष्ट र प्रकाश जोशी उम्मेदवार सिफारिस भएका छन् ।
सिफारिस हुनेहरूमा खस आर्य तर्फ सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट र संविधान सभा सदस्य हर्क बहादुर सिंह, दलित तर्फ जङ्ग विक र सिद्धाराज विक, महिला/जनजाति तर्फ अन्जिता श्रेष्ठ, युवा तर्फ धन बहादुर विष्ट र नव युवा तर्फ वीर बहादुर थापा र प्रकाश जोशी रहेका छन् ।
नव युवा तर्फ उम्मेदवार सिफारिस भएका थापा अखिल (क्रान्तिकारी) सुदूरपश्चिमका अध्यक्ष हुन भने जोशी वाइसीएल डोटीका इन्चार्ज हुन् ।
यस्तै समानुपातिकतर्फ १० जना सिफारिस भएका छन् । गोरख बहादुर सार्की, कृष्ण दर्लामी, पुर्णा जोशी, श्रीचन्द्र श्रेष्ठ, सिता रायमाझी, दिल बहादुर कठायत, डम्बर धर्ती, नन्दलाल विक, डबल ताम्राकार र लक्ष्मण नाथ योगीलाई सिफारिस गरिएको छ ।
यसै गरी राष्ट्रियसभा सदस्य पदका लागि भरत बहादुर बोहरा सर्वसम्मत रूपमा सिफारिस भएका छन् । पार्टीले समावेशिता, अनुभव र सङ्गठनप्रतिको योगदानलाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको जनाएको छ ।







प्रतिक्रिया