सुदूरपश्चिममा कारागारबाट भागेका बन्दीः अझै कुन जिल्लामा कति फरार?

पाँजलो न्युज
२६ असोज २०८२ ५:१३

दिपायल- गत २४ भदौमा भएको जेन्जी प्रदर्शनको क्रममा सुदूरपश्चिममा ६ कारागार र एक बाल सुधार गृहबाट एक हजार  ४५८ कैदीबन्दी फरार भएका थिए। घटना भएको दिन कैलाली कारागारमा रहेका ६६७ जना मध्ये ६६६ जना बन्दी फरार भएका थिए।

यस्तै, डडेल्धुरा कारागारमा रहेका १२७ जना बन्दी मध्ये ८५ जना भागेका थिए भने  बैतडी कारागारमा रहेका ६२ जना बन्दी मध्ये ६१ जना भागेका थिए। यसैगरी दार्चुला कारागारमा रहेका ७७ जना बन्दी मध्ये ७१ जना फरार भएका थिए। बालगृह डोटीमा ५३ जना राखिएकोमा ५२ जना सुधार गृहबाट भागेका हुन्। भदौ २४ गतेको मितिमा सुदूरपश्चिमका सबै कारागार र डोटी बाल सुधार गृहमा समेत एक हजार ७५४ जना बन्दी राखिएको थियो। जेन्जी आन्दोलनको क्राममा एक हजार ४५८ बन्दी फरार भए पनि २९६ जना बन्दी भने भागेका थिएनन्। डोटी कारागार, अछाम कारागार र बाजुरा कारागारबाट भने कुनै पनि कैदीबन्दी भागेका थिएनन्।

आन्दोलन मत्थर भएपछि केही बन्दी आफै कारागार फर्किएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। केहीलाई भने प्रहरीले नियन्त्रण गरेको हो। कैलाली कारागारबाट भागेका मध्ये हाल ३७८ जना नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। कैलाली कारागारबाट भागेका २८८ जना बन्दी अझै फरार छन्।

कञ्चनपुर जिल्ला कारागारबाट ४५८ जना बन्दी भागेकोमा  ३५३ जना प्रहरी नियन्त्रणमा आएका छन् भने अझै १०५ जना कारागार बाहिरै छन्। बझाङ जिल्ला कारागारबाट भागेका मध्ये ५३ जनालाई नियन्त्रणमा ल्याइएको छ भने १२ जना बन्दी अझै फरार छन्। डडेल्धुरा कारागारबाट भागेका ८५ जना बन्दी मध्ये हाल ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ, ५ जना अझै फरार रहेको प्रदेश प्रहरीले जनाएको छ। यस्तै, बैतडी कारागारबाट फरार भएका ६१ मध्ये ६० कारागार फर्किएका छन् भने एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ। यसैगरी दार्चुला कारागारबाट भागेका ७१ कैदीबन्दी मध्ये  ६५ जना प्रहरी नियन्त्रणमा आएका छन् भने ६ जना अझै बाहिर रहेका छन्। डोटी बाल सुधार गृहबाट भागेका ५२ जना मध्ये  ३७ जना नियन्त्रणमा आए पनि १५ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *