डोटी, भदौ ३१ – नेपाली कांग्रेस जिल्ला कार्य समिति डोटीको भदौ ३१ गते बसेको बैठकले पछिल्ला घटनाक्रमबारे ध्यानाकर्षण गर्दै विभिन्न निर्णय गरेको छ।
नेपालको संविधान र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि डोटीमा रहेका अन्य संघ–संस्था र दलहरूसँग सहकार्य गर्दै कांग्रेसको नेतृत्वमा विभिन्न अभियान सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ। संविधान एवम लोकतन्त्र पक्षधरहरुसंग समन्वय गरि जिल्ला तथा पालिकास्तरमा विभिन्न अभियान संचालन गरिने नेपाली कांग्रेस डोटीका जिल्ला सचिव गणेश खडकाले जानकारी दिए । अभियानको स्वरुप कस्तो रहने भन्ने बारे भने स्पष्ट पारिएको छैन ।
बैठकले भदौ २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरु तथा नेपाल प्रहरीलगायत सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
त्यस्तै, आन्दोलनका क्रममा लोकतान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य आरजु राणा देउवा लगायत नेताकार्यकर्तामाथि भएको सांघातिक आक्रमणको कडा निन्दा गर्दै उनीहरू सहित सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बैठकले देशका ऐतिहासिक सम्पदा, सार्वजनिक तथा प्रशासनिक भवनमा गरिएको आगजनी जस्ता अकल्पनीय घटनाको निन्दा गर्दै अराजक तत्वलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै पुनःनिर्माणका लागि सबैमा योगदान दिन अपील गरेको छ।
यसैगरी, डोटीस्थित नेपाली कांग्रेस जिल्ला कार्य समिति कार्यालय (स्मृति भवन) मा अराजक समूहले गरेको आगजनीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै यसको निन्दा गरिएको छ। बैठकले भवन पुनःनिर्माणका लागि सहकार्य र सहभागिताको अपिल गरेको छ।
प्रतिक्रिया