दिपायल- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जाँत (मेला) को चहलपहल सुरु भएको छ। नेपालीहरुको दोश्रो महान चाड तिहार लगत्तै कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक सुरु हुने गरेको हो।
कात्तिक शुक्ल पूर्णिमासम्म सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा विभिन्न मठमन्दिरमा जाँत (मेला) लाग्ने गर्दछ । कामका लागि भारत लगायत अन्य ठाउँ गाएका सुदूरपश्चिमबासीहरु मेला हेर्न घर फर्कने गरेका छन् । यस्तै पहाडबाट तराई कैलाली कंचनपुरमा बसाइँसराइ गरेकाहरु पनि देविदेउताको पुजामा पहाड जाने क्रम सुरु भएको छ ।
परापूर्वकालदेखि नै कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजाआजा गर्ने चलन रहिआएको र शरद ऋतुमा देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठमा मेला लाग्ने गरेको जानकारको भनाई रहेको छ । ऐतिहासिक एवं धार्मिक महत्वका साथै यसपर्वलाई आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ।
पहाडी जिल्लाहरुमा रहेका विभिन्न मन्दिरमा रतेडी (रात्री मेला) हुने र त्यसको दोश्रो दिन दिउसेडी (दिउँसो लाग्ने मेला) हुने गरेको छ । जाँत (मेला)मा दमाहा, नंसिहर, भोक्कर बाजाउने र धामी (झाक्री) हरु नाच्ने गरिन्छ ।
कात्तिक शुक्ल पक्ष शुरु भएसँगै डडेल्धुराको प्रसिद्ध लाटा गन्याप (बडाल मेला),उग्रतारा भागेश्वर र अन्य जिल्लामा रहेका नेप मालिकार्जुन धाम, लटिनाथ त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्र, मेलौली भगवती, भवानी मन्दिरमा र मालिकार्जुन धाममा मेला लाग्ने गर्दछ।
यस्तै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुचौर्डीस्थित त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्दछ।
प्रतिक्रिया